काठमाडौं – देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षा ऐन पारित गर्न माग राख्दै राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले विज्ञप्ति जारी गर्दै उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेसको बी.पी. स्मृति भवन, ललितपुरस्थित शिक्षा विभागबाट जारी विज्ञप्तिमा सरकारले शिक्षक महासंघसँग गरेका सहमति तथा सम्झौताअनुसार कार्यान्वयन अघि बढाउन आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “शैक्षिक सुधारका सन्दर्भमा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनका लागि शीघ्र विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा छन्।”
नेपाल शिक्षक महासंघले आह्वान गरेको शैक्षिक आमहड्तालका कारण विद्यालयहरूमा पठनपाठनसमेत प्रभावित भएको उल्लेख गर्दै विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको मागप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाल शिक्षक महासंघ संग यस अघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्वोधन गर्न सरकार प्रमुखको तहबाट शीघ्र वार्ता संवादको पहल गर्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ।”
सामुदायिक विद्यालयहरूमा शैक्षिक अवरोध सिर्जना हुने अवस्था अन्त्य गर्न सबै पक्षबाट तत्काल पहल गरिनुपर्ने नेपाली कांग्रेसको धारणा रहेको छ।