प्रकाश सपुतको डेब्यु निर्देशन ‘वसन्त’ले पायो उत्कृष्ट प्रतिक्रियासहित सफल व्यापार — OSNepal

प्रकाश सपुतको डेब्यु निर्देशन ‘वसन्त’ले पायो उत्कृष्ट प्रतिक्रियासहित सफल व्यापार

Kesh Karki (USA) April 07, 2025 0

काठमाडौं – चर्चित गायक तथा कलाकार प्रकाश सपुतको डेब्यु निर्देशन रहेको सिनेमा ‘वसन्त’ ले सुखद् व्यापार गर्दै दर्शकमाझ उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ। गत चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको यो सिनेमा दर्शकबीच ‘वर्ड अफ माउथ’ मार्फत अत्यन्तै सकारात्मक चर्चा कमाइरहेको छ।

सिनेमाले उठाएको विषयवस्तु, सशक्त संगीत पक्ष, तथा आकर्षक प्रस्तुतिका कारण दर्शकहरूले प्रशंसा गरिरहेका छन्। त्यसमाथि निर्देशक सपुतले दर्शकलाई केही आश्चर्यजनक सरप्राइज पनि दिएका छन्। सिनेमा हेर्न हल पुगेका दर्शकहरू महानायक राजेश हमाललाई पर्दामा देखेर अचम्ममा परेका छन्। लामो समयपछि हमालको सिनेमामा उपस्थितिले दर्शकहरूलाई रोमाञ्चित बनाएको छ।

राजेश हमालसँगै दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तजस्ता चर्चित कलाकारहरूको समेत उपस्थितिले सिनेमालाई थप आकर्षक बनाएको छ। साथै लोकदोहोरी गायिका शान्तिश्री परियार र मोडल अञ्जली अधिकारीको पनि सिनेमामा अभिनय रहेको छ।

प्रकाश सपुतले यति धेरै चर्चित कलाकारहरूको सहभागिताबारे प्रदर्शन अघि कुनै जानकारी नदिई सिनेमा रिलिजपछि मात्र खुलाएका कारण सामाजिक सञ्जालमा दर्शकहरूबाट चासो व्यक्त गरिएको छ। कतिपय दर्शकहरूले प्रदर्शनअघि जानकारी दिएको भए व्यापार अझै राम्रो हुने धारणा राखेका छन्। अहिले यी कलाकारहरूको दृश्यहरू सामाजिक सञ्जाल विशेषगरी टिकटक र फेसबुकमा भाइरल भइरहेका छन्।

‘वसन्त’ मा प्रकाश सपुतसँगै स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ। सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली रहेका छन्।

प्रकाश सपुतले निर्देशनसँगै अभिनयमा पनि उस्तै दम देखाएका छन्। ‘वसन्त’ ले नेपाली सिनेमामा नयाँ प्रयोग र सशक्त प्रस्तुति मार्फत दर्शकको मन जित्न सफल भएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर