क्यान्सर रोगमाथि विजय प्राप्त गरेकी गायिका देविका बन्दनाको सम्मानमा सचेतना कार्यक्रम सम्पन्न — OSNepal

क्यान्सर रोगमाथि विजय प्राप्त गरेकी गायिका देविका बन्दनाको सम्मानमा सचेतना कार्यक्रम सम्पन्न

Kesh Karki (USA) April 07, 2025 0

काठमाडौं – इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम तथा वरिष्ठ गायिका देविका बन्दनाको सम्मान समारोह राजधानीको अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ।

कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसम्बन्धी उपयोगी र जानकारीमूलक प्रस्तुति दिनुभयो। कार्यक्रममा गायिका देविका बन्दना, गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको संयोजन अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका संगीतकार टिका दाहालले गर्नुभएको थियो।

क्यान्सरमाथि सफलतापूर्वक विजय प्राप्त गरेकी गायिका देविका बन्दनासँगै बौद्ध धर्मगुरु टुल्कु कर्मा साङ्गपो रोका (सम्सारा गुरू) लाई समेत सम्मान गरिएको थियो। गायिका बन्दनाको जीवन संघर्ष र प्रेरणादायक यात्रालाई थप प्रोत्साहन दिन इन्टरनेशनल नेप्लिज कम्युनिटीले उहाँद्वारा लिखित पुस्तक Winner’s Gale (जित्नेको हाँसो) का ५० प्रति खरिद गरेको जनाएको छ।

विश्वभर विभिन्न पेशा र व्यवसायमा संलग्न भई सामाजिक सञ्जालमा सक्रिय नेपालीभाषी युवाहरूको समूहबाट स्थापित इन्टरनेशनल नेप्लिज कम्युनिटीले व्यक्तिगत, सामाजिक र राष्ट्रिय उन्नयनका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाका प्रमुख सुजेश लामाका अनुसार, संस्थाको उद्देश्य विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायलाई एकीकृत गर्दै सामाजिक, शैक्षिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा योगदान पुर्‍याउनु हो।

संस्थाले हालसम्म स्वास्थ्य, साहित्य, कानुनी परामर्श, महिला सशक्तीकरण, दैवी प्रकोप पीडित सहायता, खेलकुद प्रशिक्षण, शिक्षा तथा क्यान्सर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा संस्थाका सदस्यहरू, संगीतकर्मीहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर