काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि सदस्यता लिने आज अन्तिम दिन हो। यस्तो संवेदनशील समयमा एनआरएनएका अभियन्ताहरूले सकभर चाँडो सदस्यता लिई डेलिगेट्स बन्न आह्वान गरेका छन्, जसले संस्थाको लोकतान्त्रिकरण र सुधारमा ठुलो योगदान पुर्याउने उनीहरूको भनाइ छ।
आइतबार उच्चस्तरीय समितिद्वारा आयोजित वेबिनारमा बोल्दै समिति सदस्य कुल आचार्यले सर्वोच्च अदालतले दिएको जिम्मेवारी इमान्दार रूपमा पूरा गरिरहेको बताए। साथै, डेलिगेट्स बन्नका लागि १ सय अमेरिकी डलर (झन्डै १४ हजार नेपाली रुपैयाँ) शुल्क तोकिएको जानकारी दिए। उनले अप्रिल २२ भित्र डेलिगेट्स बन्न निवेदन दिन अपिल गरे।
उच्चस्तरीय समितिकी सचिव जानकी गुरुङले महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको बताइन्। उनले सदस्यता एप्रुभलमा आरम्भमा ढिलाइ भए पनि अहिले तयारी पूरा भएको उल्लेख गरिन्। हालसम्म १४ हजारभन्दा बढीले सदस्यताको लागि आवेदन दिइसकेको र २ सयभन्दा बढी डेलिगेट्स बन्ने निवेदन आइसकेको उनले बताइन्।
अमेरिकामा बसोबास गर्ने डा. केशव पौडेलले सबै पक्ष मिलेर यो अधिवेशनलाई एकताको अधिवेशन बनाउनुपर्नेमा जोड दिए। “डेलिगेट्स चयन प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ,” उनले भने।
त्यसैगरी, मलेसियामा रहेका अभियन्ता खगेन्द्र न्यौपानेले विगतको तुलनामा यसपटक चुनाव प्रक्रिया फरक रहेको जनाए। उनले कसैलाई पनि सदस्य बन्नबाट वञ्चित नगरिएको र झगडाको अन्त्य गरिएको बताए।
बेल्जियम निवासी लोक दाहालले स्वतःस्फूर्त रूपमा सदस्य बन्नेहरूको चाप उत्साहजनक रहेको बताए। उनले एनसीसीलाई समयमै बुझाउन सकेको भए सदस्यता अझै बढ्ने थियोल भन्ने धारणा राखे।
कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सचिव गंगाधर गौतमले गरेका थिए।