संयुक्त राष्ट्र सङ्घद्वारा भुटानका राजनीतिक बन्दीहरूमाथिको दमनको भर्त्सना, तुरुन्त रिहाइको आह्वान — OSNepal

संयुक्त राष्ट्र सङ्घद्वारा भुटानका राजनीतिक बन्दीहरूमाथिको दमनको भर्त्सना, तुरुन्त रिहाइको आह्वान

Kesh Karki (USA) April 06, 2025 0

द हेग – संयुक्त राष्ट्र सङ्घका छ जना विशेष प्रतिवेदकहरूद्वारा हालै सार्वजनिक गरिएको संयुक्त प्रतिवेदनले भुटानमा गम्भीर मानवअधिकार उल्लङ्घनहरू, विशेष गरी राजनीतिक बन्दीहरूलाई गैरकानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको व्यवहारप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ।

यो प्रतिवेदनलाई ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (GCRPPB) र ह्युमन राइट्स वाच (HRW) ले स्वागत गरेका छन्। प्रतिवेदनमा मनपरी गिरफ्तारी, यातना, अन्यायपूर्ण मुद्दा चलाउने अभ्यास, र अमानवीय जेल अवस्थाहरू जस्ता गम्भीर दुर्व्यवहारहरूको पर्दाफास गरिएको छ।

वर्षौंसम्म भुटानले आफूलाई शान्तिपूर्ण हिमाली राष्ट्रको रूपमा चित्रण गर्दै आएको छ, तर यो प्रतिवेदनले त्यसको ठ्याक्कै उल्टो तस्बिर प्रस्तुत गरेको छ। विशेष गरी ल्होत्साम्पा जातीय समूहका थुप्रै राजनीतिक बन्दीहरूलाई प्रजातन्त्र र मानवअधिकारको पक्षमा आवाज उठाएको भन्दै अनुचित रूपमा जेल हालिएको प्रतिवेदनमा उल्लेख छ।

यी बन्दीहरूले अमानवीय व्यवहार, लामो समयको पीडा, चिकित्सकीय सेवाको अभाव र न्यूनतम कानुनी सुरक्षाबाट वञ्चित भएको अवस्था भोगिरहेका छन्। “यो भुटानमा फरक मत राख्नेहरूप्रति गरिएको योजनाबद्ध दमनको सङ्केत हो,” प्रतिवेदनमा भनिएको छ।

प्रणालीगत दमनको रूपरेखा

प्रतिवेदनमा भुटानी अधिकारीहरूले आतङ्कवादविरुद्धको कानुन र राष्ट्रिय सुरक्षासम्बन्धी प्रावधानहरूको दुरुपयोग गरी राजनीतिक विपक्षीहरूलाई दबाउने गरेको, राजनीतिक बन्दीहरूलाई प्रायः मुद्दा नचलाईकनै लामो समय जेलमा राख्ने, जबरजस्ती स्वीकारोक्ति गर्न बाध्य पार्ने र आफ्ना परिवारसँग सम्पर्क गर्न पनि रोक लगाउने गरेको उल्लेख छ।

संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदकहरूले यातनाको प्रयोग, निष्पक्ष मुद्दाको अभाव, मौलिक मानवअधिकारको उल्लङ्घन र भुटानी जेलहरूको अमानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले राजनीतिक बन्दीहरूलाई क्षमादान दिई रिहा गर्न भुटान नरेशलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन

भुटानले अहिलेसम्म नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ICCPR), आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि (ICESCR) र यातनाविरुद्धको महासन्धि (CAT) जस्ता प्रमुख अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर गरेको छैन। यद्यपि, यो प्रचलित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनहरू पालना गर्न बाध्य छ।

प्रतिवेदकहरूले विश्व मानवअधिकार घोषणापत्र तथा सन् २०१९ मा गरिएको युनिभर्सल पिरियोडिक रिभ्यु (UPR) का सिफारिसहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिवेदनमा ३२ राजनीतिक बन्दीमध्ये १९ जनाको केस दस्तावेज गरिएको छ, तर सबै ३२ जना बन्दीहरूका लागि न्यायको माग गरिएको छ।

राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न आह्वान

भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्व अभियान (GCRPPB) ले सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरू पालना गर्न भुटान सरकारलाई आग्रह गरेको छ। उक्त संस्थाले संयुक्त राष्ट्र सङ्घ, मानवअधिकार संस्थाहरू र लोकतान्त्रिक सरकारहरू सहित सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई भुटानमा भइरहेको गम्भीर मानवअधिकार उल्लङ्घनको अन्त्यका लागि कूटनीतिक दबाब बढाउन आह्वान गरेको छ।

GCRPPB का संस्थापक तथा ग्लोबल कोअर्डिनेटर राम कार्कीले यो प्रतिवेदनले भुटानका राजनीतिक बन्दीहरूले भोगेका अन्यायहरूलाई प्रमाणित गरेको बताए। “अब उनीहरूको आवाज दबिनु हुँदैन। हामी पीडितहरू र उनीहरूका परिवारहरूसँग ऐक्यबद्धता जनाउँदै सबै राजनीतिक बन्दीहरूको पूर्ण रिहाइ नहुँदासम्म सङ्घर्ष जारी राख्नेछौँ,” कार्कीले भने।

उनले सबै राजनीतिक बन्दीहरू रिहा भई उनीहरूको नयाँ जीवन सुरु गर्न आवश्यक पुनर्स्थापना कार्यक्रमहरू सुनिश्चित नहुँदासम्म विश्वव्यापी समर्थन प्राप्त भइरहने विश्वास पनि व्यक्त गरे।

यो लिङ्कमा गएर राष्ट्र सङ्घीय प्रतिवेदनको पूर्ण पाठ पढ्न सकिन्छ:
https://spcommreports.ohchr.org/TMResultsBase/DownLoadPublicCommunicationFile?gId=29588

हाल भुटानका विभिन्न जेलहरूमा रहेका राजनीतिक बन्दीहरूको नाम:

१. रिन्जिन वाङ्दी
२. तेन्जिङ गावा जाङ्पो
३. किन्ले ग्याल्छेन
४. किन्ले पेन्जोर
५. रामलाल रावत
६. विष्णु राई
७. मधुलाल बुढाथोकी
८. एम.बी. भुजेल
९. लोक बहादुर घले
१०. शाह बहादुर गुरुङ
११. कुमार राई
१२. प्रेम राई
१३. गङ्गा राम ढकाल
१४. भक्त बहादुर राई
१५. मोनी कुमार प्रधान
१६. प्रकाश मगर
१७. हर्क बहादुर गुरुङ
१८. डम्बर सिंह पुलामी
१९. योगी प्रसाद सुब्बा
२०. कुमार गौतम
२१. हस्त बहादुर राई
२२. सुकमान मगर
२३. बिर्ख बहादुर क्षेत्री
२४. गोविन्द निरौला
२५. नन्दलाल बस्नेत
२६. ओमनाथ अधिकारी
२७. खगेन्द्र खनाल
२८. आइता राज राई
२९. सनमान गुरुङ
३०. चतुरमान तामाङ
३१. चन्द्र राज राई
३२. भीम बहादुर राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर