काठमाडौं – यही चैत २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित मल्टिस्टारर नेपाली फिल्म ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ (Parental Guidance) सर्टिफिकेट प्राप्त गरेको छ। यस सर्टिफिकेटअनुसार १६ वर्ष मुनिका बालबालिकाले यो फिल्म हेर्न अभिभावकको साथ आवश्यक पर्नेछ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म ‘पिताम्बर’ लाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन्। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।
यस फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) को समेत दमदार अभिनय देख्न पाइनेछ।
फिल्मका निर्माता विशाल चौलागाईं हुन् भने सह–निर्मातामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन्। कार्यकारी निर्माताको भूमिकामा सुमन गौतम छन्।
फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले तयार पारेका हुन्। छायांकन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन्।
भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका छन्। संगीतमा आशीष अविरल र बाबुल गिरीको योगदान छ। द्वन्द्व निर्देशन हिमाल केसीको रहेको छ ।फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ।
चर्चित कलाकारहरूको सशक्त अभिनय र प्रविधि तथा प्रस्तुतिमा गरिएको लगानीका कारण ‘पिताम्बर’ प्रति दर्शकहरूमा उच्च उत्साह देखिएको छ।