महेन्द्रनगर (धनुषा)-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको मिथिला नगरपालिका–४ स्थित जलाद खोलाको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भइरहेको भेटिएपछि उत्खनन तथा ओसारपसारमा प्रयोग भएका सातवटा टिपर र दुईवटा स्काभेटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रभित्र पर्ने भएकाले यहाँ कुनै पनि किसिमको उत्खनन गर्नुअघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य पर्दछ । सो प्रतिवेदनलाई प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिनुपर्ने व्यवस्था छ । बिनास्वीकृति अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भएको पाएपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
“वन मन्त्रालयको स्वीकृतिपश्चात् मात्र सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयले सहमति जनाउँछ र त्यसपछि मात्र स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवा उत्खननको ठेक्का दिन पाउँछन्”, उहाँले भन्नुभयो, “मिथिला नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन आफैँले स्वीकृत गरेको देखिएको छ, जुन वैधानिक प्रक्रियाविपरीत हो ।”
वन तथा वातावरण मन्त्रालयले स्वीकृति नदिई खोलामा ठेक्का लगाएर उत्खनन कार्य अघि बढाएको पाइएपछि सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन मुख्यमन्त्री सिंहले निर्देशन दिनुभयो ।
अवैध उत्खननविरुद्ध कानुनी कारबाही गरिने बताउँदै उहाँले भन्नुभयो, “सरकारले वातावरणीय संरक्षण तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । नियमविपरीत गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने छौँ ।”