केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट सुरु, सम्पूर्ण तयारी पूरा — OSNepal

केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट सुरु, सम्पूर्ण तयारी पूरा

Kesh Karki (USA) April 05, 2025 0

पोखरा – मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिता भोलि (चैत २३) बाट सुरु हुँदैछ। प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा देशभरिका १६ टिमले सहभागिता जनाउनेछन्। पहिलो खेलमा पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब आमनेसामने भिड्ने छन्। दोस्रो तथा औपचारिक उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसए प्रतिस्पर्धा गर्नेछन्।

समूह विभाजन यसप्रकार:

• समूह ‘ए’: सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा महानगरपालिका क्रिकेट क्लब, स्याङ्जा क्रिकेट क्लब

• समूह ‘बी’: चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब, हिमालयन क्रिकेट एसोसिएसन

• समूह ‘सी’: लुम्बिनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब, कर्णाली एकेडेमी

• समूह ‘डी’: सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएसन, मालपोखरी क्रिकेट क्लब, होरिजोन क्रिकेट क्लब

यसअघि सम्पन्न पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय टोलीहरूले भाग लिएका थिए। सो संस्करण मधेश प्रदेशले जितेको थियो।

पुरस्कार र आकर्षणहरू:

• विजेता टोली: नगद रु १० लाख, ट्रफी, मेडल, प्रमाणपत्र

• उपविजेता टोली: नगद रु ५ लाख, ट्रफी, मेडल, प्रमाणपत्र

• म्यान अफ द सिरिज: नगद रु ३०,०००

• बेस्ट बलर र बेस्ट ब्याटर: जनही नगद रु १०,०००

• म्यान अफ द म्याच: नगद रु ५,००० र ट्रफी

एकेडेमी अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता सञ्चालनका लागि रु १ करोड ३० लाख बजेट छुट्याइएको छ। २९ टिमले आवेदन दिए पनि अन्तिम रूपमा १६ टिमको मात्र छनोट गरिएको उनले जानकारी दिए।

अध्यक्ष आचार्यले ग्रासरुट क्रिकेट विकासका लागि क्लबस्तरीय प्रतियोगिता आवश्यक भएको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई टिममा समावेश गर्ने अवसर दिइएको जनाए। साथै, प्रतियोगिताले पोखराको खेल र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिता लिग कम नकआउट प्रणालीमा हुनेछ र प्रवेश निःशुल्क गराइएको छ। आयोजकले प्रतियोगितालाई सफल बनाउन सबैलाई सहयोगको आग्रह समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर