चलचित्र र पर्यटन प्रवर्द्धनका लागि रसुवामा ग्रामीण फिल्म महोत्सव — OSNepal

चलचित्र र पर्यटन प्रवर्द्धनका लागि रसुवामा ग्रामीण फिल्म महोत्सव

Kesh Karki (USA) April 04, 2025 0

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण यो वर्ष रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा वैशाख ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको छ।

धुन्चेमा आयोजित पत्रकार सम्मेलनमा, महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले यस संस्करणमा नेपाली ग्रामीण परिवेशमा आधारित फिचर फिल्म, शॉर्ट फिल्म, डकुमेन्ट्री र सांस्कृतिक फिल्महरू प्रस्तुत गरिने बताए। उनले महोत्सवले नेपाली सिनेमा, पर्यटन, ग्रामीण कथा र स्थानीय कला–संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

कार्यक्रम संयोजक निर्देशक कमल एक्चै मगर रहेका छन्। महोत्सवमा झन्डै दुई दर्जन फिल्म प्रदर्शन गरिनेछ भने ती फिल्मसँग सम्बन्धित कलाकार, निर्देशक वा निर्माताहरूसँग स्थानीय दर्शकको अन्तरक्रिया कार्यक्रम पनि गरिनेछ।

फिल्म हल नभएको रसुवा जिल्लामा चलचित्रप्रेमी दर्शकलाई प्रत्यक्ष फिल्म हेर्ने अवसर प्रदान गर्दै महोत्सवले मनोरञ्जन र फिल्म क्षेत्रको प्रचार–प्रसारमा ठूलो भूमिका खेल्ने आयोजकको विश्वास छ। महोत्सवमा करीब ४ हजार दर्शक सहभागिता गराउने लक्ष्य राखिएको छ।

यस महोत्सवमा चलचित्र विकास बोर्डको सहकार्य रहेको छ। यसैबीच, गोसाईकुण्ड गाउँपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको ‘चौथो पालिका कप भलिबल प्रतियोगिता’ पनि यही अवधिमा अर्थात् वैशाख २ देखि ६ गतेसम्म सञ्चालन हुने भएको छ।

महोत्सवले रसुवा जिल्लाको पर्यटन प्रवर्धन, ग्रामीण जनजीवनको प्रतिनिधित्व, र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिएको आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर