काठमाडौं । अभिनेता दीलिप रायमाझी आफ्नो नयाँ चलचित्र ‘हेल्लो काँशीराम’ को प्रचारप्रसारका लागि चाँडै नेपाल फर्किन लागेका छन्। पारिवारिक कामले अमेरिका गएका रायमाझी दुई हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लि. ले जानकारी दिएको छ।
अमेरिका गएको एक महिनामै फर्किन लागेका अभिनेता रायमाझी नेपाल फर्किएपछि विभिन्न मिडिया अन्तर्वार्ता, कार्यक्रम तथा दर्शक भेटघाटमा व्यस्त रहनेछन्। ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गते देशभर प्रदर्शनमा आउन लागेको हो।
केही दिनअघि सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएको फिल्म सबै वर्गका दर्शकले सहजै हेर्न सक्नेछ। फिल्मको फस्टलुक पोस्टर केही समयअघि सार्वजनिक गरिएको थियो, जसमा दीलिप रायमाझीले बोकालाई बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान खिचेको छ।
रेडलाइन फिल्मस् प्रा.लि. को ब्यानरमा बनेको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्मा ले गरेका हुन्। लगानी पी.बी. थापा को रहेको फिल्मको निर्माण लागत करिब डेढ करोड रुपैयाँ पुगेको बुझिएको छ। छायांकन यम आले, सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङ ले गरेका छन्।
चलचित्रमा दीलिप रायमाझीसँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, तथा चर्चित हास्यकलाकारहरू फुलन्देको आमा (उमेर राई), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारहरूको अभिनय रहेको छ। यसैगरी, चर्चित अभिनेत्री प्रियंका कार्की को पनि विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन, र संगीत संयोजन नरेन्द्र बियोगी र रविपिन आचार्य ले गरेका छन्। गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार, र अनिक गिरी को आवाज रहेको छ।
निर्देशक रिम विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्, जसले नेपाली मौलिकता र सामाजिक यथार्थलाई प्रस्तुत गर्ने गरेका छन्। चलचित्रको टिजर तथा गीतहरू चाँडै सार्वजनिक गरिने निर्माण टिमको तयारी रहेको छ।