एकाग्रतासहितको मेहनत र निरन्तरताबाट सफलता — OSNepal

एकाग्रतासहितको मेहनत र निरन्तरताबाट सफलता

LC (KTM) April 03, 2025 0

काठमाडौँ, २१ चैत (रासस)ः यदि नजिकको पसलमा वा मार्टमा सफलता, इज्जत, आत्मबल, स्वास्थ्य, समुन्नति प्याकेजमा किन्न पाए हामी सबै तयार हुन्थ्यौँ होला । अहिलेको जमानामा त झन् ‘होम डेलिभरी’ हुनेगरी नै ‘अनलाइन’मा ‘अर्डर’ गथ्यौँ होला । अरूले थाहा नपाउँदै उक्त प्याकेज झिकाउन पाए थप खुसी हुन्थ्यौँ होला । तर यी दुर्लभ कुराहरु पाउनका लागि हामीहरुले आफैँले प्रण गर्नुपर्दछ, मेहनत गर्नुपर्दछ, त्यस्तो मेहनतलाई निरन्तरता दिनुपर्दछ भन्नेमा चाहिँ कमैको ध्यान पुगेको हुन्छ । सफलता मिल्यो भने खुसी भइने हुनाले सफलता मिल्नुलाई खुसी प्राप्तिको साधनका रुपमा व्याख्या गरेको पाइन्छ । साधना, शान्ति र आनन्दजस्ता खुसी प्राप्तिका माध्यम सम्बन्धमा भने यस लेखमा चर्चा गरिएको छैन । हाम्रो समय बर्बाद गर्ने क्रियाकलाप र खराब बानीबाट कसरी छुटकारा पाउने भन्नेतर्फ आउने हरफहरु केन्द्रित रहनेछन् ।

एउटा घतलाग्दो प्रसङ्ग के छ भने लतसँग जोडिएका क्रियाकलापबाहेक कुनै पनि नयाँ काम गर्नुभन्दा नगर्नु सरल नै हुन्छ । तर जीवनमा केही न केही गर्ने र समाजमा राम्रो छाप छाड्ने हो भनेर मनैदेखि लागिपरेकाहरु भने जोखिम किन नहोस् काम गर्ने भनेर अग्रसर हुने गर्दछन् । साना साना दैनन्दिनका छनोट वा निर्णयले हाम्रो जीवनलाई सार्थक र रहरलाग्दो बनाउन सहयोग पुग्दछ । तर त्यस्ता छनौटहरु भने सजगतापूर्वक लिइएको हुनुपर्दछ । सामान्यतया हामीले लिने निर्णयहरु ९५ प्रतिशत जति त तिनका गुण दोषको विश्लेषण नै नगरी वा अझ भनौँ बेहोसीमा वा अर्धचेतनामा लिने गरिएको अध्ययनको निष्कर्ष छ । के खाने, कहाँ जाने, के काम गर्ने, के कस्तो व्यक्तिसँग समय बिताउने, हरेक दिन के कस्तो उपलब्धि हासिल गर्ने, आदि सुन्दा सामान्य लाग्ने यी क्रियाकलाप तथा प्रवृत्तिले पनि जीवनमा विशेष अर्थ राख्दछन् । तत्काल प्रशंसा वा आनन्द बटुल्नुभन्दा पनि दीर्घकालमा राम्रो नतिजा दिने खालका कामका लागि समय लगानी गर्नु आवश्यक छ । भनिएको छ कि हामी माथिमाथि जानु छभने आफूलाई तलतल तान्ने तत्वहरुबाट जोगिनु जरुरी छ ।

दीर्घकालीन रुपमा सफलता प्राप्ति गर्न धेरै सङ्ख्यामा फरक कार्य गर्ने नभई केही राम्रा काम धेरै समयसम्म गरेर प्राप्त हुन्छ भन्छन् ‘कम्पाउण्ड इफेक्ट’ नामक चर्चित पुस्तकका लेखक डारेन हार्डी । उनी सफल व्यवसायी पनि हुन् । उनले जीवनमा आफैँले भोगेका विषय र सक्सेस म्यागेजिनमा अन्तरवार्ताकारका रुपमा काम गर्दा धेरै विज्ञबाट उनले सिकेका सन्दर्भहरु पुस्तकमा उल्लेख गरेका छन् । गरेर देखाएका र हजारौँ व्यावसायिक लिडर र सफल व्यक्तिसँग जोडिएका तथा मौखिक तथा लिखित रुपमा अरूलाई प्रेरणा दिने मामिलामा उनी एक चर्चित र ज्वलन्त अगुवा हुन् । त्यसो त भन्ने मात्र होइन गर्नेका कुरा अवलम्बन गर्नु बेस हुन्छ नै । सफलता प्राप्तिको लागि केही आधारभूत विषयहरु हामीले अवलम्बन गर्न सक्नुपर्दछ । ती आधारभूत पक्षको समग्र प्रभाव निस्कनका लागि भने हामीमा उपयुक्त खालको ‘अपरेटिङ सिस्टम’ अर्थात् सञ्चालन प्रणाली तुलनात्मक रुपमा लामो समयसम्म प्रयोगमा ल्याउनु जरुरी हुन्छ ।

साना उपलब्धिमा ठूलो सफलता लुकेको हुन्छ । जोन सी म्याक्सवेलले ठिकै भनेका छन् जीवनमा साँच्चिकै परिवर्तन ल्याउने हो भने दिनहुँ केही परिवर्तन गर्न तयार रहनुपर्दछ । साना भए पनि सही छनोट गरिएका विषयहरुमा निरन्तरता दिन सकेमा निश्चित समयपश्चात् प्राप्त हुने भनेको ठूलो उपलब्धि नै हो । यदि कुनै दुईजना उस्तै उमेरका व्यक्तिमा फरकफरक खालको ‘डाइटेरी’ संरचना उपलब्ध गराएर नतिजा मापन गर्न खोजियो भने पनि एक वर्ष अवधिसम्म पनि खासै अन्तर अनुभूत हुँदैन । सामान्य फरक २१ महिनामा र देखिनेगरी अन्तर २७ महिनामा देखिने अध्ययनले देखाएको छ । तर हामीहरु भने केही दिन वा महिनामै नतिजा खोज्छौँ र प्राप्त नभएमा आफ्नो अभियान त्याग्दछौँ ।

हामी कार्यरत रहेका सङ्गठन वा समूहमा वा घरपरिवारमा बचत वृद्धि गर्ने वा खुसी वृद्धि गर्ने वा स्वास्थ्य सुधार गर्ने साना तर प्रभावकारी सिद्ध भएका उपायहरुका सम्बन्धमा छलफल गर्न सकिन्छ । प्रत्येक ठूला भनिने काम, प्रत्येक लामो भनिएको यात्रा पनि सानो पाइलाबाटै सुरु हुने हो । ‘एटोमिक हेविट’ नामक चर्चित पुस्तकका लेखक ब्रियान ट्रेसीले हरेक दिन एक प्रतिशतको दशांश मात्र पनि सुधार गर्दै गइयो भने १० वर्षमा एक हजार प्रतिशत सुधार हुने तर्क अघि सार्दै जीवनमा सानासाना सुधारको महत्व हुने विषयलाई गहकिलो पाराले उल्लेख गरेका छन् । सफलताको यो नियम जोसुकैलाई लागू हुन्छ । यदि नियम पालना गर्न सकियो र धैर्यपूर्वक आफ्नो मार्गमा लगनशीलतापूर्वक काम गरियो भने प्राप्त हुने सफलता लोभलाग्दो हुन पुग्दछ ।

खराब बानीलाई कसरी हटाउने ?

जसरी बिरुवा जति ठूलो भयो त्यति जरा माटोभित्र धेरै तल पुग्ने र फैलने हुँदा उखेल्न गाह्रो हुन्छ । त्यसैगरी, गलत बानी हटाएर राम्रो बानी हुर्काउनका लागि पनि यही नियम लागू हुन्छ । भनिन्छ कि हामी अक्सर जे गर्दछौँ, त्यही क्रियाकलापले नै हामीमा बानी विकास हुन जान्छ । हाम्रो प्रवृत्ति वरिपरिको परिवेशअनुसार नराम्रो बानी सजिलै विकसित हुने र यदि लामो समयसम्म त्यस्तो बानी जारी रह्यो भने हटाउन मुस्किल पर्ने हुन्छ । राम्रा बानीको विकास गरेर सोप्रति सदा सचेत रही निरन्तरता दिनु गलत बानी हटाउने उपाय हो । लेखक हार्डीका अनुसार खराब बानी त्याग्न वा बिर्सन र असल बानी विकास गर्न हामी तयार रहनुपर्दछ, अझ भनौँ आँट गर्नुपर्दछ । कुनै पनि नयाँ कुरा विभिन्न माध्यमबाट सिकेजस्तै बिर्सने वा त्यसबाट आफूलाई टाढा राख्ने पनि तरिका वा उपाय हुन्छन् नै । शिक्षाशास्त्रमा लर्न, अनलर्न र रिलर्न भनेर नयाँ खालका कौशल सिकाइलाई महत्वका साथ हेर्ने गरिन्छ । एक अध्ययनका अनुसार कुनै असल बानीले पूर्णता पाउन कमसेकम ३०० वटा सकारात्मक पुनर्बल आवश्यक हुन्छ । यसबाट पनि के थाहा लाग्छ भने हामी आफूले विकास गर्न खोजेको असल बानीका लागि लगभग हरेक दिन सचेत रहन सकेमा मात्र एक वर्षको अवधिमा उक्त बानी हामीमा बस्न सक्छ नभए अझ लामो समय लाग्न पनि सक्छ ।

पछिल्ला वर्षहरुमा खासगरी सामाजिक सञ्जाल चलाउने लत बसेका कारणले ‘स्क्रिन टाइम’ बढेर जाने र जीवनका तमाम क्रियाकलापबीचको उपयुक्त सन्तुलन बिग्रने हुँदा हाम्रा मानवीय सम्बन्धहरुमा, कामको उत्पादकत्वमा, सिर्जनशील सोचमा, स्मरण क्षमतामा, गहिरो निद्रामा, आधिकारिकतामा, भौतिक र मानसिक स्वास्थ्यमा समेत गिरावट आएको छ । त्यतिमात्र नभई प्राथमिकता तय गर्ने र निर्णय गर्ने क्षमतामा समेत ह्रास देखापरेको छ । भित्रभित्रै हामीहरु मृत प्रायः भएका छौँ उमङ्गित हुन सकिरहेका छैनौँ । ‘डिजिटल डिभाइस’मा रहने लगावलाई ‘डिजिटल एडिक्सन’ पनि भनिन्छ । प्रसिद्ध लेखिका क्याथरिन प्राइसका अनुसार यसखाले खराब लतबाट जोगिन मोबाइल प्रयोग कम गर्ने वा नगर्ने गरी मोबाइलमै सेटिङ गर्न सकिन्छ ।

त्यस्तै, घरका केही स्थानलाई मोबाइल फ्री जोन बनाउन सकिन्छ । कन्फेरेन्स रुपमा मोबाइल प्रयोग नगर्ने नियम बनाउन सकिन्छ । यसको साथै कम्प्युटर वा मोबाइलको सट्टा पेपर वा डायरीमै नोट गर्न लगाउन सकिन्छ । साथसाथै समूहमा रहेर काम गर्ने र सुन्ने, सञ्चार गर्ने सीप र पृष्ठपोषणको लेनदेन गर्ने खालको वातावरण बनाउन सकिन्छ । खराब लत बसिसकेको अवस्थामा यो खालको कार्य वातावरणमा फर्कन भने थप मेहनत आवश्यक पर्दछ नै ।

हाम्रो कार्यसम्पादनमा सुधार ल्याउन वास्तविक प्रतिस्पर्धी हामी आफैँसँग रहेको खराब बानी हो भनेर बुझ्न जरुरी छ । व्यक्ति ‘कम्फर्ट जोन’मा रहिरहने वा त्यसको स्थानमा असल बानीको विकास गर्ने भन्ने विषयको निर्णय स्वयंबाटै हुन जरुरी छ । गलत बानी हटाउने पाँचवटा रणनीतिको कुरा गर्दा पहिलो काम भनेको के के अनुभूति वा संवेगले गलत बानी विकसित गर्न प्रेरित गरेको छ, पहिचान गर्नुपर्दछ । यसरी गलत बानीप्रतिको सचेतना बढाउनका लागि को, के, कहाँ र कहिले जस्ता प्रश्न स्वयंलाई सोधेर पनि मनन गर्न सकिन्छ । दोस्रो उपाय भनेको आफू अक्सर रहने घर वा अफिसमा गलत बानीसँग सम्बन्धित चीजवस्तु अर्थात् गलत लतलाई सम्झाउने चीजबीज हटाउनुपर्दछ । जस्तो पेयपदार्थको लत छभने किन्न छाडिदिने, उपहार पनि नलिने र पेयपदार्थ पिउन प्रयोगमा आउने गिलासहरु पनि हटाउनु राम्रो हुन्छ । टेलिभिजन हेर्ने लत छभने केबुल लाइनको सेवा हटाउनु उपयुक्त हुन्छ । तेस्रो उपाय भनेको कुनै उपयुक्त विकल्पबाट प्रतिस्थापन गर्नु राम्रो हुन्छ । जस्तो कोक पिउनुको सट्टा लेमन वाटर पिउने, जङ्क फुडको आदतको सट्टा गाजर, मूला खाने गर्नु राम्रो हुन्छ । चौथो भनेको लामो समय लगाएर विकसित बानीलाई क्रमिक रुपमा हटाउँदै जानु ठीक हुन्छ । जस्तै कफी पिउन बन्द गर्नुप¥यो भने सुरुमा आधा कटौती गर्ने र बिस्तारै पूरै हटाउनु सहज हुन्छ । पाँचौँ रणनीति भनेको कुनै कुनै बानीको हकमा एकै झट्कामा लत हटाउनु उपयुक्त हुने अनुसन्धानबाट देखिएको छ । जस्तै मुटुको रोगसम्बन्धी गम्भीर समस्या देखिएका बिमारीलाई चिल्लो खाना दिन तत्काल रोक्ने र उसिनेको सामान्य भेजेटेरियन खाना दिने तथा विज्ञको उपस्थितिमा नियमित सेसन सञ्चालन गरियो भने १५ दिनमै समस्या हट्दै जान सक्छ ।

असल बानी विकसित गर्न के गर्ने त ?

जीवनमा सफलता प्राप्त गर्नका लागि निर्धारण गरिएका उद्देश्यहरु प्राप्तिमा बाधकका रुपमा रहेका कम से कम तीनवटा आनीबानी पहिचान गर्ने र आफूले विकसित गर्न खोजेका तीनवटा आनीबानी पत्ता लगाउने काम नै सुधारको सुरुआत हुनसक्छ । डारेन हार्डीले कम्पाउन्ड इफेक्ट पुस्तकमा उल्लेख गरेअनुसार असल बानी विकास गर्नका लागि छवटा सरल तरिका अवलम्बन गर्न सकिन्छ । पहिलो भनेको सफलताका लागि मेहनत गर्न तयार रहनु हो । के खाने, स्वास्थ्य कस्तो राख्ने र के कस्ता विचलनबाट कसरी जोगिने भन्ने विषय यसमै पर्दछन् । दोस्रो विषय भनेको कुनै राम्रो कुरामा लत लगाउनु हो । के चाहिँ खान्न भन्नुभन्दा पनि अब आउने दिनमा के चाहिँ खाने भन्ने छनोट गर्नु र व्यवहारमा उतार्नु महत्वपूर्ण हुन्छ । अक्सर गरिने सङ्गत र जाने स्थानमा समेत यो लागू हुन्छ नै । तेस्रो भनेको आफूले सुधारेको बानी वा कायम राखेको असल बानी वा चरित्रका सम्बन्धमा सार्वजनिक रुपमै जवाफदेहिता प्रदर्शन गर्नु । यो विषय धुमपान वा मद्यपान छोड्न वा सामाजिक सञ्जालमा धेरै समय नदिनका लागि पनि लागू हुन सक्छ । चौथो भनेको प्रतिस्पर्धाका साथमा साथित्वभाव र रमाइलोपन पनि आवश्यक पर्दछ । उत्कृष्ट कार्यसम्पादन गर्ने क्षमता राख्ने साथी भेटियो भने उसबाट समेत आफूलाई केही राम्रो गरौँ भन्ने ऊर्जा प्राप्त हुन्छ । छैटौँ चाहिँ कुनै राम्रो उपलब्धिपश्चात् आफैँलाई दिइने पुरस्कार वा मनाइने उत्सव हो । यसमा कार्यक्षेत्रबाट बाहिर घुम्न जाने, मनोरञ्जन गर्ने जस्ता विषय पर्दछन् ।

आफूलाई मार्गदर्शक बन्ने सल्लाहकारहरुको समूह बनाएर उनीहरुबाट समयसमयमा आइडिया लिन सकिन्छ । त्यसरी मार्गदर्शक वा गुरुको चयन गर्दा विषयविज्ञता, सिर्जनशीलता र श्रद्धा वा सम्मान जाग्ने खालको व्यक्तिको छनोट हुन सके झनै राम्रो मानिन्छ । जिन्दगी लामो वा छोटो होला तर यसलाई अर्थपूर्ण बनाउने मुख्य जिम्मेवारी भने स्वयंमै भर पर्ने विषय भने बिर्सनु हुँदैन । इमान्दारीपूर्वक गरिने मेहनत र उद्देश्यप्राप्तिका लागि असल बानीको निरन्तरता नै सफलता प्राप्तिको सही मार्ग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर