काठमाडौं – काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड, राज्यविरुद्धको अपराध तथा आपराधिक उपद्रवमा संलग्न थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत चैत १५ गते नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्ण प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले संघीय संसद भवन वरपर निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। उनीहरू प्रहरीमाथि ढुंगा प्रहार गर्दै, गाडीबाट आक्रमण गर्ने प्रयास गर्दै, सुरक्षाकर्मीको हातहतियार खोस्नेलगायतका हिंसात्मक गतिविधिमा संलग्न भएका थिए।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी तथा सर्वसाधारण घाइते भएका थिए भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको थियो। नेपाल आयल निगम, नागरिक उड्डयन प्राधिकरण, अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डलगायत संवेदनशील स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा आपराधिक गतिविधि गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न थप सात जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका व्यक्तिहरू
राज्यविरुद्धको अपराध तथा संगठित अपराध अन्तर्गत
• प्रेम थापा मगर (४७ वर्ष) – रुपन्देही, देवदह नगरपालिका-९।
अपराधिक उपद्रव कसूर अन्तर्गत
• समिर मगर (२१ वर्ष) – झापा, गौरादह नगरपालिका-१।
• सुरेश गौतम (२२ वर्ष) – रामेछाप, सुनापति गाउँपालिका-१।
• सुशिल बराल (२३ वर्ष) – ताप्लेजुङ, फुलुङ नगरपालिका-३।
• रमेश राई (२७ वर्ष) – नुवाकोट, बेलकोटगढी नगरपालिका-७।
• गोकर्ण शाही (२० वर्ष) – अछाम, पंचदेवल नगरपालिका।
• मुकुन्द दहाल (३९ वर्ष) – संखुवासभा, पाँचखपन नगरपालिका-२, हाल काठमाडौं, कागेश्वरी मनोहरा-९।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। साथै, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तथा हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने प्रहरीले चेतावनी दिएको छ।