सन्जिब दुलाल – भक्तपुर । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्रीसहित आवश्यक सामग्री सहयोग गरेका छन्।
काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु-बहिनीले विद्यालयका २३ जना अनाथ बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत प्रदान गरेका हुन्। उनीहरूको यो योगदान स्वर्गीय हजुरआमा लोचनाकुमारी मल्ल (विद्यालयकी पूर्व प्रिन्सिपल) को स्मृतिमा गरिएको हो।
विद्यालयकी प्रधानाध्यापिका न्हुछेंलक्ष्मी गोरा का अनुसार विद्यालयमा नर्सरी, केजी र कक्षा १ गरी तीन कक्षामा अध्ययनरत सबै बालबालिका आमाबुबाविहीन छन्। यी विद्यार्थीहरू विद्यालयमै बस्छन्, खान्छन् र पढ्छन्।
सानै उमेरमा सहयोगको प्रेरणा
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए। उनले सानो उमेरमै सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग गरेको भन्दै लक्ष्यजीत र समृद्धिको योगदानलाई प्रेरणादायी बताए।
यसअघि पनि यी दाजु-बहिनीले विभिन्न विद्यालयहरूमा सहयोग गरिसकेका छन्। समृद्धि मल्लले भनिन्, “दानको महत्व बुझेकाले आफूभन्दा साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको छ।”
विद्यालयमा हाल सरकारद्वारा नियुक्त तीन शिक्षक (जसमध्ये दुई दृष्टिविहीन) र तीन जना सहयोगी कर्मचारी कार्यरत छन्। सहयोग पाउँदा विद्यार्थीहरू निकै उत्साहित भएका थिए।
कार्यक्रमको संयोजन प्रेमध्वज मोक्तान ले गरेका थिए।