एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय — OSNepal

एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

Kesh Karki (USA) March 31, 2025 0

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ।

आइतबार भर्चुअल रूपमा सम्पन्न समितिको १३औं बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार राति २३:५९ सम्म) उच्चस्तरीय समितिको वेबसाइट www.nrnahlc.com मा गएर सदस्यताका लागि आवेदन दिन पाइने छ।

बैठकले अहिलेको विशेष परिस्थितिका कारण एमआइएस सिस्टममा दर्ता भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरूलाई पनि अनिवार्य रूपमा उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनुपर्ने निर्णय गरेको छ।

साथै, बैठकले आउँदो मे ३-५, २०२५ मा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रूपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि सुरू गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा डेलिगेट्सको रूपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरूले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नुपर्ने छ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले को अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए। त्यस्तै, आर्थिक, विधान, सदस्यता वितरण तथा प्रचारप्रसार उपसमितिका संयोजकहरूले आ-आफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए।

उच्चस्तरीय समितिको १३औं बैठकमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले मे महिनामा काठमाडौंमा हुने महाधिवेशनलाई सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए। साथै, विधानमा उल्लेखित कार्यक्षेत्र (ToR) को विषयमा सहजीकरण गर्न उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरलाई जिम्मा दिने निर्णय गरिएको छ।

एनआरएनए उच्चस्तरीय समितिले समस्त गैरआवासीय नेपालीहरूलाई सदस्यता प्रक्रियामा सहभागी हुन तथा महाधिवेशनको तयारीमा सहयोग गर्न आग्रह पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर