काठमाडौं, १८ चैत – काठमाडौंको तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल द्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे प्रहरीले गम्भीर ध्यानाकर्षण जनाएको छ।
शान्तिपूर्ण प्रदर्शनका लागि नवराज सुवेदीको संयोजकत्वमा र दुर्गा प्रसाईको नेतृत्वमा आयोजित कार्यक्रमका क्रममा तोडफोड, आगजनी तथा अन्य आपराधिक क्रियाकलाप भएका थिए। घटनाक्रममा तीनकुनेस्थित एक घरमा मानिस रहँदै गर्दा आगजनी गरिएको थियो, जसका कारण एकजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार, घटनाको सत्यतथ्य नबुझी विभिन्न सामाजिक सञ्जालमा भ्रामक समाचारहरू फैलाइएको छ। केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ” भन्ने समाचार प्रचार गरिरहेकोप्रति प्रहरीले आपत्ति जनाएको छ।
प्रहरी स्रोतका अनुसार, उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ र मृतकको पोष्टमार्टम समेत पूरा नभइसकेको अवस्थामा यस्ता भ्रामक समाचार सम्प्रेषण गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो। साथै, यस्ता गलत सूचनाहरू फैलाउने व्यक्ति वा संस्थाहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।
घटनाबारे सत्यतथ्य बुझ्न आग्रह गर्दै प्रहरीले अफवाहमा नफस्न र आधिकारिक जानकारी मात्र लिन आग्रह गरेको छ।