तीनकुने प्रदर्शन हिंसात्मक, ४१ जना पक्राउ — OSNepal

तीनकुने प्रदर्शन हिंसात्मक, ४१ जना पक्राउ

Kesh Karki (USA) March 31, 2025 0

काठमाडौं, चैत १८ – काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ। नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको नेतृत्वमा गरिएको प्रदर्शनका क्रममा आयोजकहरूकै उक्साहटमा भीडले संघीय संसद भवन वरिपरि निषेधित क्षेत्र तोड्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो।

प्रदर्शनकारीहरूले ढुंगामुढा गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए। उनीहरूले गाडी चलाएर प्रहरीको ज्यान लिने प्रयास गर्नुका साथै सुरक्षाकर्मीहरूलाई घरेलु हतियार, लाठी, फलामका रड आदि प्रयोग गरी प्रहार गरेका थिए। घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षाकर्मीहरू घाइते भएका छन्।

यसबाहेक, प्रदर्शनकारीहरूले सर्वसाधारणका घर, निजी सम्पत्ति, संचार गृह, विभिन्न राजनीतिक दलका कार्यालयहरू, नेताहरूका निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको भण्डारण स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डमा समेत तोडफोड र आगजनी गरेका थिए।

घरभित्र मानिस रहँदा आगजनी

तीनकुनेस्थित एउटा घरमा मानिस रहेको जानकारी हुँदाहुँदै पनि आगो लगाइएको पाइएको छ। संचारकर्मीहरूले प्रत्यक्ष रिपोर्टिङ गरिरहेका अवस्थामा समेत उनीहरूको जीवन जोखिममा पार्ने गरी आगजनी गरिएको प्रहरीको आरोप छ।

४१ जना पक्राउ, अनुसन्धान जारी

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानहरूबाट ४१ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये ११ जनाविरुद्ध राज्यविरुद्धको कसूर र संगठित अपराध मुद्दा दर्ता गरिएको छ भने बाँकी ३० जनामाथि अपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ।

पक्राउ परेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर