हिरासतबाटै संघर्ष गर्ने मिश्र र राणा, अस्पताल सुविधा लिन अस्वीकार — OSNepal

हिरासतबाटै संघर्ष गर्ने मिश्र र राणा, अस्पताल सुविधा लिन अस्वीकार

Kesh Karki (USA) March 31, 2025 0

काठमाडौं, चैत १७ – राजसंस्था पुनर्स्थापना जनआन्दोलनका नेताद्वय डा. धवल शम्शेर राणा र रवीन्द्र मिश्रले हिरासतबाटै संघर्ष जारी राख्ने घोषणा गरेका छन्। उनीहरूले स्वास्थ्य समस्याका आधारमा प्राप्त अस्पताल बस्ने सुविधा नलिने निर्णय गरेका हुन्।

संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले आइतबार काठमाडौं जिल्ला अदालतको इजलासमा भने, “स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु।”

आन्दोलन परिचालन संयोजक राणाले पनि हिरासतबाटै संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “राज्यले ज्यान लिन्छ भने लिओस्, साथीको साथ छाड्दिन, हिरासतमै बसेर लडाई लड्छु।”

स्वास्थ्य समस्याका बाबजुद अस्पताल बस्न अस्वीकार

रवीन्द्र मिश्र उच्च रक्तचाप र धवल शम्शेर राणा क्यान्सर पीडित रहेको भन्दै वकिलहरूले उनीहरूलाई अस्पताल राख्नुपर्ने अनुरोध अदालतसमक्ष पेश गरेका थिए। तर, मिश्र र राणाले उक्त सुविधा नलिने बताएपछि वकिलहरूले निवेदन फिर्ता लिएका छन्।

राणाको केही समयअघि क्यान्सर शल्यक्रिया भएको थियो, र उनी नियमित स्वास्थ्य परीक्षणका लागि आगामी वैशाख १५ गते भारत जानुपर्ने कार्यक्रम रहेको छ।

शान्तिपूर्ण आन्दोलनमै दमन भएको दाबी

मिश्र र राणाले अदालतमा आफूहरूले कुनै हिंसात्मक गतिविधिमा संलग्न नभएको स्पष्ट पार्दै भने, “आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्याँस हान्ने, मान्छे मार्ने कार्यमा हाम्रो कुनै संलग्नता छैन। सरकारले शान्तिपूर्ण जनप्रदर्शनमा हामीलाई दमन गर्‍यो, भीडलाई उत्तेजित बनाउने काम गर्‍यो।”

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका क्रममा मिश्र र राणालाई पक्राउ गरिएको थियो। अदालतले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर