परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न मन्त्री केसीको निर्देशन — OSNepal

परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न मन्त्री केसीको निर्देशन

Kesh Karki (USA) March 31, 2025 0

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री केसीले निर्माण कार्यमा ढिलाइ गर्ने व्यवसायीलाई सम्पर्क गरी काम सुरु गराउने पहल गर्न सम्बद्ध निकायलाई निर्देशन दिए।

निर्माण व्यवसायीलाई कडाइ

मन्त्री केसीले समयमै काम नगर्ने व्यवसायीलाई सचेत गराउँदै भने, “चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षीय योजनाहरू सञ्चालन गर्न बहानाबाजी गर्ने, ढिलासुस्ती गर्ने व्यवसायीलाई निर्माण कार्य सुरु गराउन पहल गर्न निर्देशन दिन्छु।”

उनले मन्त्रालयको परिपत्रअनुसार काम अगाडि नबढाएमा लिखित रूपमा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिए।

योजनाहरू समयमै सम्पन्न गर्न निर्देशन

मन्त्री केसीले चालु आर्थिक वर्षको वार्षिक विकास योजनाहरूलाई समयमा सम्पन्न गर्न कडाइ गरेका छन्। उनले चैत्र मसान्तभित्र सबै ठेक्का प्रक्रिया सक्न निर्देशन दिँदै, काममा लापरबाही नगर्न सम्बन्धित निकायलाई सचेत गराए।

८०% प्रगति हासिल गर्ने लक्ष्य

हाल मन्त्रालयको भौतिक प्रगति ४५% र वित्तीय प्रगति ३१.१५% रहेको जानकारी दिँदै मन्त्री केसीले वार्षिक गोष्ठीमा आउँदा कम्तीमा ८०% प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

उनले चालु आर्थिक वर्षभन्दा अगाडिका क्रमागत बहुवर्षीय योजनाहरूमा रकम विनियोजन न्यून भएकाले आवश्यक व्यवस्था मिलाइने बताए। साथै, रकमान्तर भएका योजनाहरूमा तत्काल काम अघि बढाउन र समस्याग्रस्त योजनामा व्यवसायीसँग छलफल गरी ठेक्का तोड्ने वा अघि बढाउने निर्णय गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर