सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसहित सम्पन्न ‘आइइसी डिजाइनर रनवे’ — OSNepal

सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसहित सम्पन्न ‘आइइसी डिजाइनर रनवे’

Kesh Karki (USA) March 31, 2025 0

काठमाडौं । नेपाली फेसन उद्योगको प्रमुख कार्यक्रम ‘आइइसी डिजाइनर रनवे’ यस वर्ष भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार र शनिबार राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित फेसन शोमा चर्चित सेलिब्रेटी र व्यावसायिक मोडलहरूले एउटै र्‍याम्प साझा गरेका थिए।

सेलिब्रेटी र मोडलको विशेष प्रस्तुति

फेसन शोमा एक दर्जन चर्चित सेलिब्रेटी र ३१ जना व्यावसायिक मोडलले नवीनतम फेसन डिजाइन प्रस्तुत गरे। आईइसी कलेजका २०२२ ब्याचका १०२ जना विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक-फरक पहिरन डिजाइन २५ सिक्वेन्समार्फत प्रदर्शन गरियो।

शो टपरको रूपमा चर्चित सेलिब्रेटीहरू र्‍याम्पमा देखिए। १४औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ मा र्‍याम्पमा प्रस्तुति दिने सेलिब्रेटीहरूमा स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका कलाकार तथा मोडल सहभागी थिए।

अन्तर्राष्ट्रिय कोरियोग्राफी र भव्य म्यानेजमेन्ट

भारतका चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको विशेष सहभागिता रहेको शोको व्यवस्थापन जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरेको थियो। नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले ‘आइइसी डिजाइनर रनवे’ अन्य फेसन शोहरूभन्दा भव्य भएको बताए।

नेपाली फेसनलाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य

आयोजक आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार यो फेसन शोको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रवर्द्धन गर्दै तिनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु हो। विगतमा एक दिन आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष थप भव्य र विस्तारित रूपमा आयोजना गरिएको उनले बताइन्।

उनका अनुसार आगामी संस्करणमा सन् २०२३ का विद्यार्थी डिजाइनरहरूले नयाँ फेसन कलेक्सन प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर