पोखरा । नेपाली कांग्रेस कास्कीका जेष्ठ कार्यकर्ता तथा पूर्व उप-प्रधानपञ्च टिकाराम लामिछानेको ७८ वर्षको उमेरमा निधन भएको छ।
लामिछानेको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चैत १६ गते बेलुकी ५:३० बजे निधन भएको हो। लामिछाने विगत केही वर्षदेखि फोक्सो तथा पिसाबसम्बन्धी समस्याबाट ग्रसित थिए।
२००३ साल भदौ ५ गते तत्कालीन माझठाना गाविस–९ (हाल पोखरा महानगरपालिका–२८, लामिछाने गाउँ) मा जन्मिएका लामिछाने कुशल समाजसेवी, स्पष्ट वक्ता, र उदार राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए।
राजनीति र समाज सेवामा लामिछानेको योगदान
लामिछाने २०४२ सालमा माझठाना गाउँ पञ्चायतका उप-प्रधानपञ्च बनेका थिए। उनले विभिन्न सामाजिक, धार्मिक, र विकास निर्माणका कार्यहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
उनले नेपाली कांग्रेसको स्थानीय तहदेखि जिल्ला स्तरसम्म नेतृत्व गर्दै नेपाल रेडक्रस सोसाइटी माझठाना शाखाका सभापति, माझठाना स्वास्थ्य चौकीका अध्यक्ष, रत्नशोभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, थाक खानेपानी उपभोक्ता समितिका सचिव, र राखी-मिजुरे सडक उपभोक्ता समितिका सचिव जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
हाल उनी नेपाली कांग्रेसका क्रियाशील सदस्यका रूपमा रहेका थिए।
पार्टी नेताहरूबाट श्रद्धाञ्जली
लामिछानेको पार्थिव शरीरमा नेपाली कांग्रेसका विभिन्न नेताहरूले चारतारे झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए। श्रद्धाञ्जली दिने नेताहरूमा कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, पूर्वमन्त्री तथा कास्की कांग्रेसका पूर्वसभापति यज्ञबहादुर थापा, निर्वतमान सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि विकास गुरुङ, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछाने, क्षेत्र नम्बर १ (प्रदेश ‘ख’) का सभापति कृष्ण कोइराला, पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने, मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ, पोखरा–२८ कांग्रेस सभापति विश्वरमण अधिकारी, गण्डकी प्रदेश आमन्त्रित सदस्य शिरोमणि बराल लगायत थिए।
लामिछानेका एक श्रीमती, दुई छोरा र चार छोरी रहेका छन्।
अन्तिम संस्कार सम्पन्न
स्वर्गीय लामिछानेको अन्तिम संस्कार आइतबार मादी नदी किनारमा सम्पन्न गरिएको छ।