डा. प्रकाशचन्द्र लोहनीको प्रश्न: “राजा ज्ञानेन्द्रलाई जरिमाना पठाउने कानुनी आधार के?” — OSNepal

डा. प्रकाशचन्द्र लोहनीको प्रश्न: “राजा ज्ञानेन्द्रलाई जरिमाना पठाउने कानुनी आधार के?”

Kesh Karki (USA) March 31, 2025 0

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिमाना सम्बन्धी पत्र पठाएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीव्र आपत्ति जनाएका छन्। उनले बालेनको कदमलाई ‘सस्तो लोकप्रियताको प्रयास’ भन्दै आलोचना गर्दै कानुनी आधार स्पष्ट पार्न माग गरेका छन्।

लोहनीले मेयर शाहको निर्णयप्रति प्रश्न उठाउँदै भने, “यो पत्राचार कुन कानुन बमोजिम गरिएको हो? काठमाडौंका मेयर बालेनजीले जनतालाई राम्रोसँग स्पष्ट पार्नुपर्छ। अन्यथा, यो सस्तो लोकप्रियताको लागि गरिएको कदम मात्रै ठहर्नेछ।”

उनले सरकारकै स्वीकृतिमा सम्पन्न भएको कार्यक्रमलाई अश्रुग्यास प्रहार गरी भंग गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको दाबी गर्दै भने, “नेपाल सरकार स्वयंले अनुमति दिएको कार्यक्रममा प्रहरी हस्तक्षेप किन भयो? यो कानुनी रूपमा कति उचित छ?”

लोहनीको आपत्ति: “ज्ञानेन्द्र शाह कसरी दोषी?”

डा. लोहनीले चैत्र १५ गतेको घटनालाई स्मरण गर्दै भने, “त्यस दिन दुई पक्ष थिए—एक त कार्यक्रम आयोजना गर्ने पक्ष, अर्को सरकार स्वीकृति दिने पक्ष। तर, कार्यक्रम सुरु भइसकेपछि अचानक मञ्चमै अश्रुग्यास प्रहार गरियो।”

उनले थपे, “स्वीकृति दिइसकेको सभामा यस्तो हस्तक्षेप गर्नु कुन नियमले जायज ठहरिन्छ? त्यस दिनको घटनापछि उत्पन्न परिस्थितिको जिम्मेवारी कसले लिने?”

लोहनीले बालेन शाहलाई सोधेका छन्—“यी सबै घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह कसरी संलग्न भए? उनलाई जरिमाना गर्नुपर्ने आधार के हो?”

राप्रपा नेता लोहनीले बालेन शाहलाई कानुनी जवाफ दिन आग्रह गर्दै भनेका छन्, “हामी धेरै काठमाडौंबासी उहाँका शुभचिन्तक हौं, तर अब हामीलाई स्पष्ट जवाफ चाहिन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर