काठमाडौँ, १६ चैतः नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासङ्घको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी र हराएका सञ्चार सामग्रीको विवरण सङ्कलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा महासङ्घले घटनाका सम्बन्धमा सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मङ्गलबार सरोकारवाला सङ्गठनसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ ।
समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक कार्यरत सञ्चारगृह र उहाँको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति पनि गठन गरेको जनाइएको छ । उक्त समितिका सदस्यहरुमा महासङ्घका सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली रहेको महासङ्घका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।
महासङ्घले हिजो भएको आन्दोेलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा आज देशव्यापी विरोध प्रदर्शन समेत गरेको छ ।