मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे — OSNepal

मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे

Kesh Karki (USA) August 07, 2021 0

मकवानपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् ।

अघिल्लो आव २०७६÷७७ को तुलनामा २०७७÷७८ मा चार हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । अघिल्लो आवमा सात हजार ९१८ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए । साथै सो कार्यालयले गत आवमा नौ हजार ४०० लाई प्रतिलिपि नागरिकता जारी गरेको थियो ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।

त्यसैगरी उक्त कार्यालयमा विगत तीन वर्षको अवधिमा राहदानी लिनेको सङ्ख्यामा कमी आएको छ । गत आव २०७७÷७८ मा राहदानी बनाउने साधारणतर्फ तीन हजार ७८० तथा द्रुत सिफारिसतर्फ एक हजार ९३१ रहेको जनाएको छ । राहदानी बनाउन दिएकामध्ये दुई हजार २०९ लाई राहदानी वितरण भएको छ । साथै एक हजार २५६ थान राहदानी वितरण गर्न बाँकी रहेको छ ।

आव २०७६÷७७ मा चार हजार ३७४ ले साधारणतर्फ र द्रुततर्फ दुई हजार ९५१ ले राहदानी बनाउने सिफारिस भएको थियो । यस्तै आव २०७५÷७६ मा राहदानी बनाउन पाँच हजार ९७२ को साधारण सिफारिस र पाँच हजार ९८ को द्रुत सिफारिस भएको थियो । विगत तीन आवको तुलना गर्दा जिल्लामा राहदानी बनाउनेको सङ्ख्या घट्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमणको कारण वैदैशिक रोजगारीमा जाने वातावरण नबनेको हुनाले राहदानी बनाउनेको सङ्ख्या कमी भएको अनुमान गरिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर