सरकार र राजनीतिक दलहरूले बैंक, वित्तीय संस्था, सहकारी तथा मीटरब्याजका कारण पीडित भएकाहरूलाई कुनै वास्ता गरेनन्। विगत पाँच वर्षदेखि उनीहरू न्यायका लागि भौतारिरहेका थिए। मानिसहरूले बैंक, वित्तीय संस्था र मीटरब्याजीका कारण आफ्नो जायजेथा सबै गुमाए। सहकारी, लघुवित्त र फाइनान्सले करोडौं सर्वसाधारणको खर्बौं रुपैयाँ डुबाइदियो।
न्याय माग्दै जनता पटकपटक सडकमा उत्रिए। तर, सरकारले उनीहरूलाई वास्ता गरेन। त्यसपछि उनीहरूको आवाज बने मेडिकल व्यवसायी दुर्गा प्रसाईं। उनले पनि बैंकबाट दश अर्ब ऋण लिएका थिए। आफू बैंकबाट पीडित बनेपछि उनले अरूको समेत मुद्दा उठाउन थाले। सहकारी, लघुवित्त, फाइनान्स र बैंकबाट पीडित बनेका जनता प्रसाईंको पक्षमा लागे।
किनभने सरकार र राजनीतिक दलहरूले उनीहरूलाई वास्ता गरेन। सरकारबाट न्यायको आशा मरेपछि जनताले प्रसाईंमाथि विश्वास गरे। उनले भनेको हरेक कुरा मान्न तयार भए। परिणामस्वरूप, शुक्रबार राजधानीमा हिंसात्मक घटना हुन पुग्यो। जनता प्रसाईंको पछि लागे, प्रसाईं राजाको पछि लागे। एकाएक मुलुकमा संकटकाल आइलाग्यो।
को दोषी? प्रसाईं, पूर्वराजा ज्ञानेन्द्र शाह वा सरकार र राजनीतिक दलहरू?
एकै दिनको आन्दोलनले ठूलो जनधनको क्षति पुर्यायो। अहिलेसम्म यो रोकिएको छैन। तत्काल रोकिने छाँटकाँट पनि देखिँदैन। तर, यस्तो हुनुमा दोषी को? प्रसाईं, पूर्वराजा ज्ञानेन्द्र शाह, कि सरकार र राजनीतिक दलहरू?
सरकार र राजनीतिक दलहरूले जनताको पीडालाई हलुका रूपमा लिए। प्रसाईंलाई पनि हलुकै रूपमा लिए। अहिले त्यसको परिणाम हामी सबैले देख्यौं। यदि सरकार र राजनीतिक दलहरूले बेलैमा सहकारी, लघुवित्त, र मीटरब्याजको समस्या समाधान गरेका भए जनता त्यसरी सडकमा आउने थिएनन्। प्रसाईंको लहैलहैमा लागेर आफ्नो ज्यान जोखिममा पार्न तयार हुने थिएनन्।
दुर्भाग्यवश, सरकारले आफ्ना नागरिकको आवाज नसुन्दा फेरि पनि गरिब जनताले नै ज्यान गुमाउनु परेको छ। घाइते हुनुपरेको छ। पछिल्लो पाँच वर्षमा पटकपटक सरकार गठन भयो। एमाले, कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा लगायतका दलहरू सरकारमा पुगे। केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रधानमन्त्री बने। तर, कसैले पनि जनताको पीडा देखेनन्। त्यसैले आज व्यवस्थामाथि नै संकट आइपरेको छ।
जनताको समस्याको सुनुवाई बेलैमा भएको भए…
जनताको समस्याको समयमै सुनुवाई भएको भए मुलुक अहिले यो अवस्थामा हुने थिएन। भनिन्छ, समय फर्केर आउँदैन। एक मिनेट पनि महत्त्वपूर्ण हुन्छ। हाम्रा राजनीतिक दलहरूले समयको महत्त्व बुझेनन्।
जनताले आफ्नो समस्या समाधान गर्न पाँच वर्षको समय दिएका थिए। अनि पाँच वर्षसम्म दलहरू के हेरेर बसे? सरकार के गरेर बस्यो? सरकारले जनताको आवाजलाई मजाक ठाने। सोच्यो— “यिनीहरूले के नै गर्न सक्ला र?”
तर, भोकले तड्पिएको बाघ र नभोकाएको बाघमा धेरै फरक हुन्छ। त्यसरी नै, पीडामा रहेका जनताले पनि न्यायका निम्ति जे पनि गर्न सक्छन्। जुन अहिले प्रमाणित भइसकेको छ।
जनतालाई न्याय चाहिएको थियो। तर, सरकारले उनीहरूको पीडालाई गम्भीर रूपमा नलिँदा विगतमा हजारौं जनताको रगत बगेको राजतन्त्र को निम्ति अहिले सर्वसाधारण फेरि सडकमा उत्रिएका छन्।
राजनीतिक दलहरूले अब पनि सुध्रिने कि अझै आरोप-प्रत्यारोपमै रहने?
दुर्गा प्रसाईं एक व्यक्ति मात्रै हुन्। उनी न नेता हुन्, न राजा। तर, किन हजारौं जनता उनको पक्षमा सडकमा उत्रिए? किन राजतन्त्रका निम्ति हिंसात्मक बने?
यो गम्भीर विषय हो। यसबारे राजनीतिक दलहरूले गम्भीरतापूर्वक सोच्नैपर्छ। तर, गणतन्त्रका नेताहरू मोजमस्ती गर्नमै तल्लीन छन्। जनताको आवाज सुन्ने यहाँ कोही छैन।
देशभर न्यायको लागि आत्महत्या गर्नुपर्ने अवस्था छ। रोजगारी छैन, भ्रष्टाचार मौलाएको छ, व्यापार व्यवसाय बन्द हुँदै छन्, जनता पलपल तड्पिरहेका छन्। तर, राजनीतिक दलहरूलाई सत्ता जोगाउने चिन्ता मात्र छ।
अब पनि नबुझ्ने हो भने व्यवस्था फेरिन धेरै समय लाग्दैन!
बैंक, वित्तीय संस्था खोल्न सरकारले लाइसेन्स दिएको हो। अनुगमन र नियमन गर्ने जिम्मेवारी पनि सरकारकै हो। तर, यहाँ दलका कार्यकर्ता बैंक, वित्तीय संस्था खोलेर जनता ठग्दैछन्।
सरकारले जनतालाई न्याय दिन सकेन। न्यायका लागि भौतारिएका जनतामाथि सरकारले राजनीति गरिरह्यो। भनिन्छ— अन्याय गर्नु तर अत्याचार नगर्नु। तर, यहाँ त सरकारबाटै जनतामाथि अत्याचार भइरहेको छ।
पछिल्ला घटनाहरूले पुष्टि गरिसकेको छ कि जनताको सहनशीलताले धैर्य गुमाइसकेको छ। यदि सरकारले तीनकुने घटनालाई हलुका रूपमा लियो भने अब मुलुकमा व्यवस्था परिवर्तन अवश्य हुनेछ।
प्रधानमन्त्री ओली विपक्षीमाथि आक्रमण गर्न कार्यकर्तालाई निर्देशन दिन्छन्। देउवा पत्नी आरजुलाई नक्कली भुटानी शरणार्थी काण्डमा जेल हाल्नुको साटो परराष्ट्रमन्त्री बनाउँछन्। प्रचण्ड एउटा कर्मचारीको पछि लागेर सत्ता जोगाउने खेल खेल्दैछन्।
जनताको आवाज सुन्न कोही छैन। विगतमा जसरी राजनीतिक दलहरूले जनतालाई सडकमा उत्राएका थिए, त्यस्तै अहिले दुर्गा प्रसाईंको लहैलहैमा लागेर जनता फेरि छातीमा गोली खानुपरेको छ।
गल्ती गर्ने नेता र दलहरू, तर मर्नुपर्ने जनता!
अब पनि सुधार नआए जनताको क्रान्तिले कसैलाई छाड्ने छैन!
राजनीतिक दलहरूले जनतालाई सार्वजनिक रूपमा माफी माग्नुपर्छ। नत्र यो आन्दोलनले देशलाई कहाँ पुर्याउने हो र नेताहरूको अवस्था कस्तो हुने हो, केही भन्न सकिन्न!
✍️ रुषा थापा
भक्तपुर