जनता समाजवादी पार्टीद्वारा हिंसा र अराजक गतिविधिप्रति कडा आपत्ति — OSNepal

जनता समाजवादी पार्टीद्वारा हिंसा र अराजक गतिविधिप्रति कडा आपत्ति

Kesh Karki (USA) March 29, 2025 0

काठमाडौं, १६ चैत २०८१ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले हालै विभिन्न स्थानमा भएका हिंसात्मक गतिविधि, लुटपाट, तोडफोड तथा आपराधिक क्रियाकलापहरूको कडा विरोध गर्दै लोकतान्त्रिक मूल्य-मान्यता र कानूनी शासनको रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।

ललितपुर, बलकुमारीस्थित केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा प्रवक्ता मानिष कुमार सुमन ले हालसम्म कांग्रेस र कम्युनिष्ट दलहरूले सत्ता सञ्चालन गर्दा सुशासन, विकास र स्थायित्व दिन नसकेको आरोप लगाएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाइ राख्न र अराजक प्रवृत्तिहरूको अन्त्य गर्नका लागि सरकार गम्भीर बन्नुपर्ने बताए।

विज्ञप्तिमा हालै काठमाडौंका मुख्य क्षेत्र, विशेष गरी गौशाला र आसपासका स्थानहरूमा भएका हिंसा, लुटपाट र तोडफोड जस्ता घटनाहरूलाई गम्भीर रूपमा लिँदै, यसबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

जसपाले हिंसाका क्रममा ज्यान गुमाएका नागरिकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन आग्रह गरेको छ। साथै, पार्टीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सबै वर्ग-समुदायलाई समान अवसरको सुनिश्चितता गर्न पनि जोड दिएको छ।

विज्ञप्तिको अन्त्यमा, शासन सुदृढीकरण, सामाजिक न्याय र दीर्घकालीन शान्ति स्थापनाको लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गर्दै नागरिकहरूलाई अन्यायविरुद्ध उभिन र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न अपिल गरिएको छ।

थप जानकारीका लागि:

फोन: +९७७-०१-५१८६३९२

इमेल: jasapanepal2077@gmail.com

वेबसाइट: peoplessocialist.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर