काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने यो चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको केही समयअघि थिम मोसन पोस्टरमार्फत जानकारी सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको भावनात्मक कथा प्रस्तुत गर्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने सङ्घर्षको कथालाई चलचित्रले उजागर गर्नेछ ।
चलचित्रले गाउँबाट शहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अप्रत्याशित घटना र ती घटनाले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई प्रस्तुत गर्नेछ ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो । चलचित्रको सहायक निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन् ।
नयाँ कथावस्तु र आकर्षक शीर्षकसहित निर्माण हुने ‘जनै हराएको बाहुन’मा कलाकारहरूको लाइनअप पनि बलियो छ । यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भएका छन् । मुख्य अभिनेत्रीका रूपमा केकी अधिकारी र मिरुना मगर छन् भने गौरव पहाडी र रेयर राईले पनि अभिनय गर्ने पक्का भएको छ ।
यसैगरी, यो चलचित्रमा अभिनेता सुशान्क मैनाली पनि जोडिएका छन् । राष्ट्रिय अवार्ड विजेता अभिनेता मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निभाउने पक्का भएको छ ।
उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली सिनेमामा पुनरागमन गर्न लागेका छन् । उनले ‘साँगुरो’, ‘टलकजंग भर्सेस टुल्के’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।
सम्बन्धका धागाहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले धेरै वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेको मैनालीले बताएका छन् ।
हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गते रिलिज हुने यो चलचित्रमा मैनालीको प्रवेशले निर्माण टोलीलाई थप ऊर्जा मिलेको सहायक निर्देशक राउतले बताए ।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको यो चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा थानेश्वर गौतमको सङ्गीत रहनेछ ।
चलचित्रको छायांकन चैत २५ गतेदेखि ४० दिनको सेड्युलअनुसार पाल्पा र काठमाडौंमा गरिनेछ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स हुन् भने नवीन गुरुङले छायांकन गर्नेछन्।