काठमाडौं, १६ चैत्र २०८१ (मार्च २९, २०२५) – मिडिया एलायन्स नेपाल (एमएएन) ले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको चैत्र १५ गते (मार्च २८, २०२५) सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा भएको दुःखद मृत्युप्रति गहिरो शोक र आक्रोश व्यक्त गर्दै कडा प्रेस वक्तव्य जारी गरेको छ। एमएएनले यो घटनालाई नेपाल सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारको परिणाम भएको ठहर गरेको छ।
महासचिव दिरेकलाल श्रेष्ठद्वारा हस्ताक्षरित वक्तव्यमा सुरेश रजकको साहस र पत्रकारिताप्रतिको समर्पणको प्रशंसा गरिएको छ। “अन्तिम घडीसम्म सत्यको खोजीमा समाचार सम्प्रेषण गर्ने उनको समर्पणले वास्तविक पत्रकारिताको साहस र प्रतिबद्धता परिभाषित गर्छ। हामी उनको बहादुरीलाई सलाम गर्छौं र उनको परिवार, साथीभाइ तथा सहकर्मीहरूसँग दुःखमा एकजुट छौं,” वक्तव्यमा उल्लेख छ।
एमएएनले सरकार र आन्दोलनकारी दुवैको कडा निन्दा गरेको छ। संगठनले सरकारको अलोकतान्त्रिक चरित्रलाई लिएर प्रश्न उठाउँदै मिडिया क्षेत्रमा रिपोर्टिङ गरिरहेका पत्रकारहरूको सहयोगका लागि पटक-पटक गरेको आग्रहलाई बेवास्ता गरेको आरोप लगाएको छ। “हाम्रा अध्यक्षले प्रहरी महानिरीक्षकलाई बारम्बार सम्पर्क गरी घटनाको आधिकारिक जानकारी माग्दा जवाफ नदिने व्यवहारलाई लोकतान्त्रिक सरकारको चरित्र कसरी भन्न सकिन्छ?” वक्तव्यमा भनिएको छ।
संगठनले सशस्त्र प्रहरी महानिरीक्षकलाई गलत जानकारी दिइएको र काठमाडौंका प्रमुख जिल्ला अधिकारीले माथिको आदेश भन्दै प्रेससँग बोल्न नमानेको खुलासा गरेको छ। “प्रमुख जिल्ला अधिकारीलाई पटक-पटक सम्पर्क गर्दा फोन नउठाउने र सन्देशको जवाफ नदिने व्यवहारले सरकारको गैरजवाफदेहिता प्रमाणित गर्छ। दुःखद कुरा, सुरेशको मृत्यु भएपछि मात्र प्रहरी महानिरीक्षकले सम्पर्क गरे,” वक्तव्यमा उल्लेख छ। यस्तो लापरबाहीले पत्रकारको ज्यान गएको एमएएनको ठहर छ।
घटनास्थलमा सर्वत्र सीसीटीभी क्यामेरा रहेकोले सत्य बाहिर ल्याउन गाह्रो नहुने भन्दै एमएएनले सुरक्षाकर्मी र आन्दोलनकारीको कमजोरीका कारण नागरिकको ज्यान गएको अवस्थामा चुप लागेर नबस्ने बताएको छ। संगठनले एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाहरू निर्बाध सञ्चालन गर्न दिनु सबै पक्षको कर्तव्य भएको र यस्ता सेवालाई रोक्नु मानवताविरुद्धको अपराध भएको चेतावनी दिएको छ।
एमएएनले मिडियाकर्मीको अधिकारका लागि काम गर्ने दाबी गर्ने केही संस्था र स्वनामधन्य पत्रकारहरूको मौनता र सरकारको पक्षपोषण गर्ने व्यवहारप्रति मर्माहत भएको जनाएको छ। “सत्यको खोजी नगरी सरकारको संरक्षण गर्नु पत्रकारितामाथिको घात हो,” वक्तव्यमा भनिएको छ।
संगठनले सरकारसँग घटनाको गम्भीर र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। “चाहे अपराध सुरक्षाकर्मीबाट भएको होस् वा आन्दोलनकारीबाट, कानुनअनुसार कडा कारबाही नभए सुरेशको बलिदानप्रति अपमान र नेपालको लोकतन्त्र तथा प्रेस स्वतन्त्रतामाथि अन्तर्राष्ट्रिय दाग लाग्नेछ,” वक्तव्यमा चेतावनी दिइएको छ।
सुरेश रजकको शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै एमएएनले अपराधीलाई कारबाही नभएसम्म चुप नबस्ने प्रतिबद्धता जनाएको छ। “युवा पत्रकारको बलिदान खेर जानेछैन। एकदिन सत्यको जित हुनेछ,” वक्तव्यमा भनिएको छ।
यो दुःखद घटना र एमएएनको कडा प्रतिक्रियाले नेपालमा पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको अवस्थाबारे चिन्ता बढाएको छ। अनुसन्धानको माग तीव्र बन्दै गएको छ र थप विवरणको प्रतीक्षा गरिएको छ।