गरिब र अशिक्षितहरूलाई ‘ललिपप’ देखाएर कहिलेसम्म आफ्नो कर्तुत लुकाउने? — OSNepal

गरिब र अशिक्षितहरूलाई ‘ललिपप’ देखाएर कहिलेसम्म आफ्नो कर्तुत लुकाउने?

Kesh Karki (USA) March 29, 2025 0

जनतामा अझै चेतना नखुलेको कुरा हिजोको घटनाले पुष्टि गर्छ। समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा गरेको जनसभामा विभिन्न जिल्लाका सर्वसाधारण सहभागी भए, तर कतिपयको खुट्टामा चप्पलसमेत थिएन। सित्तैमा गाडी चढ्न, खान र काठमाडौं हेर्न पाउने प्रलोभनमा उनीहरू आए। कोही भने आफन्त भेट्न मौका छोपेर आएका थिए।

अहिले पनि जनताहरू मासुभात र फ्री गाडीको लोभमा राजनीतिक कार्यक्रममा सहभागी भइरहेका छन्। बेरोजगार र आर्थिक अवस्था कमजोर भएकाहरूलाई एक हजारको नोट र खाना देखाउने क्रम जारी छ। बच्चा बोकेका महिला, झुत्रो लुगामा आएका व्यक्ति र स्कूल जाने विद्यार्थी पनि त्यहाँ थिए। कतिपयले बाध्यताले आएको बताए— गाउँमा बस्न गाह्रो हुने डरले जबरजस्ती सहभागी भए।

हजारौंलाई गाडी रिजर्व गरेर ल्याउने, पैसा बाँड्ने र मासुभात खुवाउने पैसा कहाँबाट आयो? जवाफ सहज छ— व्यापारीबाट चन्दा उठाइयो। ठेक्कापट्टा कार्यकर्तालाई दिने, राजस्व छल्ने, सरकारी जग्गा कब्जा गर्ने र कालोबजारी गर्न दिने कामबाट यो सम्भव भएको हो। हरेक राजनीतिक दलको यही रीत छ।

कार्यक्रमको नाममा गरिबलाई पैसा दिएर ल्याउने र नेताहरूले भाषण ठोक्ने चलन छ। सबै पार्टी भ्रष्टाचारमा डुबेका छन्। सर्वसाधारण भन्छन्— माओवादी पहिलो भ्रष्टाचारी हो, त्यसपछि एमाले र कांग्रेस आउँछन्। जनताको गरिबीको फाइदा उठाएर शक्ति प्रदर्शन गर्ने र सत्तामा रजाइँ चलाउने यो क्रम कहिले रोकिन्छ?

नेताहरूकै कारण यो अवस्था बनेको हो भन्ने जनतालाई चेत छैन। देशमा महँगी, कालोबजारी र बेरोजगारी बढेको छ। दिनहुँ हजारौं नेपाली विदेश पुग्छन्। एक जनाको टाउकोमा ९० हजार वैदेशिक ऋण छ, तर प्रश्न गर्न जनता सक्दैनन्। उल्टै तातो घाममा नेताको भाषण सुन्छन्।

जनताले खबरदारी नगर्दा नेताको मनपरी बढेको हो। खाली खुट्टा जनता भाषण सुन्दा प्रचण्ड कोटप्यान्टमा ठाँटिएर आएका थिए। भाषण गर्नेहरू मोटाघाटा देखिन्थे, तर सुन्ने किशोरहरू खान नपाएर बूढाजस्ता थिए। कर तिर्ने जनता बूढा भए, करमा मोज गर्ने नेताको जवानी कायमै छ।

यिनीहरूलाई नेता भन्नु शब्दकै अपमान हो। देश, कर र वैदेशिक ऋण लुट्ने यिनीहरू गरिबका नेता होइनन्, दलाल हुन्। कम्पनीहरू कार्यकर्ताकै छन्, जसले चन्दा दिएर जनता ठग्छन्। हिजोको कार्यक्रममा घाम चर्किँदा पैसा हुनेले पानी किने, नहुनेले हेरिरहे।

जनता झन् गरिब बन्दै छन्, ऋणमा फस्दै छन्। गरिबी र बेरोजगारीले सबै हतोत्साहित छन्। जनता जति कमजोर, नेताहरूलाई त्यति फाइदा। खुट्टामा चप्पल नहुनेले ९२ हजार ऋण बोकेको छ। मोज नेताले गरे, ऋण जनतामाथि थोपरियो। अब यस्तालाई लखेट्ने कि भाषण सुन्ने?

नेताहरूले देश र जनताका लागि के गरे? आफ्नो परिवार र पार्टीलाई मात्र फाइदा पुर्‍याए। गल्ती स्वीकार्दैनन्, भ्रम छर्छन्। विकास र परिवर्तनको कुरा गर्छन्, तर कहाँ छ विकास? देश बाहिर-भित्र दुवैतिर खोक्रो भइसक्यो।

सबै दल देश कंगाल बनाउन जिम्मेवार छन्। जनताको पनि गल्ती छ— कार्यकर्ता बने, जनता बनेनन्। कर तिर्ने जनतामाथि ऋण थुप्रियो। नेताका छोराछोरी उच्च तहमा छन्, जनताका छोराछोरी खाडीमा। यो लज्जाको मूल्यांकन अब कसले गर्ने?

अनुसा थापा
भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर