चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौंको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा हाम्रो संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मंचमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकारपक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलियो। सभामा उपस्थित नागरिकहरू माथि अश्रुग्याँस सहित गोली प्रहार गरेर नागरिकको हत्यासँगै तोडफोड र आगजनी गराएर आतंक सिर्जना गर्ने घटनाको घोर भत्र्सनागर्दै शहीद भएका वीर योद्धाहरूलाई हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौं।
आन्दोलनमा भएका कुनै पनि घटनामा संलग्न नभएका हाम्रो जनकमाण्डर दुर्गा प्रसाई लगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रम पश्चात जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शम्शेर राणा, प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायत अन्य सहयोद्धाहरूलाई पक्राउ गर्ने र मलाई नजरबन्दमा राख्ने कार्य भएको छ। श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने तयारी भइरहेको समाचारहरू बाहिर आएका छन्। त्यसअनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वेच्छिक विरोधमा उत्रने छन् भन्ने हाम्रो जानकारीमा आएको कुरा यहाँ उल्लेख गर्दै त्यस किसिमको कदमको घोर भत्र्सना गर्दछौं।
जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा चल्दैन, जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्छन्। अतः आजको बर्बतापूर्ण दमन र हिंसाका विरुद्ध हुने जनआन्दोलन जनताले देशभर शान्तिपूर्ण तवरले गर्नु हुनेछ भन्ने अनुरोधसहित जनता अघि लागेर गर्ने आन्दोलन र जनचाहनाको हामी सधैं पक्षमा रहनेछौं, साथ दिनेछौं।
स्मरण रहोस्, यस्तो किसिमको विषम परिस्थितिमा कसैबाट धमिलो पानीमा माछा मार्ने प्रयास नगरियोस्।
देशभक्त जनताको आन्दोलन जारी छ।
नवराज सुवेदी
संयोजक
संयुक्त जनआन्दोलन समिति