पूर्व मुख्यसचिव क्षेत्रीलाई बिचौलियाले गभर्नरको रूपमा अगाडि सारे, ५० करोडको खेल — OSNepal

पूर्व मुख्यसचिव क्षेत्रीलाई बिचौलियाले गभर्नरको रूपमा अगाडि सारे, ५० करोडको खेल

Kesh Karki (USA) March 29, 2025 0

काठमाण्डौं। नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ ट्वीस्ट र खेलहरू हुन थालेका छन्। पछिल्लो समय सरकारले गर्ने प्रमुख नियुक्तिहरुमा बिचौलियाको बोलवाला चलिरहेको बेला गभर्नरमा समेत नियुक्तिको मिति नजिकिँदै गर्दा बिचौलियाहरू हाबी हुन थालेका हुन्।

नेपाल राष्ट्रबैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरूलाई पछि पार्ने गरी बिचौलिया समूहले पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम लिएर चलखेल सुरु गरेको हो। यसले गभर्नर नियुक्तिको खेलमा नयाँ मोड ल्याउन सक्ने देखिएको छ।

देशमै चिनिएको बिचौलिया दीपक भट्ट समूहले केही व्यवसायिक घराना र प्रतिष्ठानको सहयोग लिएर अहिले राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने भन्दै ठूलो सहयोग रकम संकलन गरिरहेको एक औद्योगिक घरानाका प्रतिनिधिले जानकारी दिएका छन्। “दीपक जीहरूले राजेन्द्र क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने भयो र त्यसका लागि विभिन्न शक्तिकेन्द्रहरूलाई रिझाउन भन्दै हामीसँग पनि सहयोग माग्नुभएको थियो। हामीअनुकूल मान्छे गभर्नरको रूपमा आउने हो भने ठीकै हो भनेर हामीले पनि सहयोग गरेका छौं,” ती उद्योगीले भने। “धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्तै नेपाल राष्ट्रबैंकको गभर्नरमा समेत उहाँहरू नै हाबी हुने अवस्था देख्दैछु म। हामीलाई त काम गर्न सहज मान्छे भयो भइगो नि।”

अन्य व्यापारिक घरानाहरूमा समेत दीपक भट्ट समूहले रकम उठाइरहेको छ। “राजनीतिक दलका नेताहरुलाई ५० करोड रुपैयाँ नदिई हामीअनुकूल गभर्नर नआउने भए” भन्दै धमाधम रकम उठाइएको स्रोतहरूले बताएका छन्।

बिचौलिया समूहले विभिन्न व्यापारिक तथा औद्योगिक घरानाहरूलाई समातेर सहयोग नै उठाउन थालेपछि गभर्नर नियुक्तिको खेलले नयाँ मोड लिन सक्ने सम्भावना बढेको छ।

गभर्नर बन्ने दौडमा राष्ट्रबैंकका दुई डेपुटी गभर्नर, दुई कार्यकारी निर्देशक, वाणिज्य बैंकका तीन सीईओ पनि रहेका छन्।

नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको राष्ट्रबैंकलाई हाँक्ने गभर्नरको रूपमा बिचौलियाले कब्जा गरेको अवस्थामा देशको अर्थतन्त्र थप डामाडोल हुने त्रास उत्पन्न भएको छ। बिचौलियाहरूले आफूले पैसा उठाएर खर्च गरेर ल्याएको गभर्नरले उनीहरुअनुकूल नीति ल्याउँछ, सोहीअनुसार काम गर्छ। जसले गर्दा मुलुकको अर्थतन्त्रमा नराम्ररी गम्भीर धक्का पर्न सक्ने सम्भावना बढेको छ।

को हुन् बिचौलियाले बोकेका क्षेत्री?

राजेन्द्र किशोर क्षेत्री छोटो समयकै लागि भए पनि नेपाल सरकारको मुख्य सचिव भइसकेका पूर्व प्रशासक हुन्। ५८ वर्षे उमेर हदका कारण २०७४ असार २९ गते मुख्यसचिव बनेका उनी २०७४ साल कात्तिक ६ गते अवकाश भएका थिए।

उनी परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु देउवा निकट पनि मानिन्छन्। मुख्यसचिवबाट अवकाशपछि उनी केही व्यापारिक घरानामा परामर्शदाताको रूपमा काम गर्दै आएका छन्।

पछिल्लो समय केन्द्रीय बैंकको गभर्नरजस्तो पदमा अर्थसचिव पनि नभएको पूर्व प्रशासकलाई ल्याउन नहुनेमा तीव्र दबाब सिर्जना भइसकेको थियो। चौतर्फी विरोधका कारण उनको गभर्नरसम्मको यात्रा असहज बनिरहेकै बेला बिचौलिया र पैसाको प्रवेशले नयाँ ट्वीस्ट आउने सम्भावना बढेको हो।

बिचौलियाले बोकेका क्षेत्री अर्थशास्त्र, नेपालको ऊर्जा तथा जलस्रोत, राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय कानुन, कर, बिमा र भौतिक पूर्वाधारका क्षेत्रका जानकार हुन्। उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर