गणतन्त्रको रक्षा गर्दै चैत्र १५ को बृहत् जनप्रदर्शन ऐतिहासिक: माओवादी केन्द्र — OSNepal

गणतन्त्रको रक्षा गर्दै चैत्र १५ को बृहत् जनप्रदर्शन ऐतिहासिक: माओवादी केन्द्र

LC (KTM) March 29, 2025 0

काठमाडौं, चैत्र १६ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले चैत्र १५ गते सम्पन्न बृहत् जनप्रदर्शन र जनसभालाई ऐतिहासिक भएको जनाएको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै गणतन्त्रवादी जनसमुदायलाई सक्रिय र उत्साहपूर्ण सहभागिताका लागि धन्यवाद व्यक्त गरेका छन्।

सापकोटाका अनुसार हिजोको जनसभाले बहुआयामिक सन्देश दिएको छ। तत्कालिक रूपमा सरकारलाई खबरदारी गर्नुका साथै ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा आएको उदण्ड जत्थालाई कडा जवाफ दिएको उनले बताएका छन्। साथै, यो प्रदर्शन गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि ऐतिहासिक कोसेढुङ्गा सावित भएको उनले उल्लेख गरे।

हिंसात्मक प्रदर्शनको निन्दा, कडा कारबाहीको माग

प्रवक्ता सापकोटाले ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शनलाई विध्वंशको पराकाष्ठा भन्दै आलोचना गरेका छन्। हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले माओवादी केन्द्र हिंसात्मक, अराजक गतिविधिको घोर भर्त्सना गर्ने बताए।

साथै, हिंसात्मक समूहद्वारा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय, निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, सञ्चार गृह र औषधि कारखानामा आगजनी, डिपार्टमेन्ट स्टोरमा लुटपाट जस्ता अमानवीय र अराजक कार्यहरू गरिएका सन्दर्भमा उनले कडा आपत्ति जनाए।

दोषीलाई कडा कारबाही गर्न आग्रह

माओवादी केन्द्रले यस्ता हिंसात्मक गतिविधि गर्न उक्साउने योजनाकार र प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन माग गरेको छ। साथै, सरकारले गम्भीर अनुसन्धान गरी दोषीहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने सापकोटाको भनाइ छ।

उनले यस्ता आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

**(अग्नि प्रसाद सापकोटा)

उपाध्यक्ष/प्रवक्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)**

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर