काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’ मार्फत कर्मको खेलको कथा प्रस्तुत गरेको बताएका छन् । जस्तो कर्म गरिन्छ, त्यस्तै फल प्राप्त हुन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ निर्माण गरेको उनले संकेत गरेका छन् ।
टिजरमा उनले जोड दिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ ले यो कुरालाई प्रस्ट पार्छ ।
मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो, अर्थात् मान्छेले जे भोग्छ र जति भोग्छ, त्यो उसकै कर्मको परिणाम हो भन्ने टिजरले देखाउँछ ।
सौरभले पनि यही कुरा बताएका छन् । ढिलोचाँडो मात्र हो, मान्छेले असल कर्म गरे राम्रो र खराब कर्म गरे त्यहीअनुसार नराम्रो सजाय पाउँछ भन्ने उनको भनाइ छ ।
जतिसुकै गलत काम गरे पनि त्यसको सजाय भाग्यले दिने उनको विश्वास छ । “कसैले गलत काम गरेर मबाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै दिन अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” सौरभको विश्वास छ, “यही नै कर्म हो । यसमा विश्वास गरेकै कारण मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौं ।”
आफूसँग नराम्रो गर्ने व्यक्तिलाई यदि उसले राम्रो गर्न सकेन भने पनि अर्को व्यक्तिबाट त्यसको सजाय प्राप्त हुने उनको भनाइ छ । “कसैले मसँग नराम्रो गर्छ भने मैले उसलाई नराम्रो गर्न नसके पनि अर्को कसैले उसलाई नराम्रो गरेर सन्तुलन कायम गर्छ,” उनले भने ।
निर्देशक चौधरीले चैत २९ का लागि सबैभन्दा पहिले आफूले प्रदर्शन मिति लिएको बताएका छन् । आफूले रिलिज डेट तोक्दा अरू कुनै पनि चलचित्र नभएको उनको भनाइ छ ।
आफू छायांकनमा गएर आधा सुटिङ पूरा गरेपछि मात्र अरूले चैत २९ मा रिलिज हुने भन्दै मिति लिएको उनले बताए ।
“कसले कहिले रिलिज मिति लियो भन्नुभन्दा पनि अब सबै मिलेर हलमा दर्शकलाई कसरी ल्याउने भन्नेतर्फ सोच्नुपर्छ,” उनी भन्छन्, “एउटै मितिमा रिलिज हुने नै भएपछि अब सबैले मिलेर हलसम्म दर्शक ल्याउने वातावरण कसरी बनाउने भन्नेमा ध्यान दिन सकियो भने फाइदा हुन्छ ।”
चलचित्र ‘कर्मा’ मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।
नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन विधामा बनेको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैंले लेखेका हुन् ।
‘कर्मा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको पृष्ठभूमि संगीत, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको रङ संयोजन छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।