प्रेस स्वतन्त्रता रक्षा गर्न नेजाको अपिल, पत्रकारमाथि हमलाको निन्दा — OSNepal

प्रेस स्वतन्त्रता रक्षा गर्न नेजाको अपिल, पत्रकारमाथि हमलाको निन्दा

Kesh Karki (USA) March 29, 2025 0

काठमाडौं, मार्च २८, २०२५ – नेपालमा राजसंस्था पुनःस्थापनाको माग राख्दै राजावादी समूहद्वारा गरिएको आन्दोलनको रिपोर्टिङका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। आन्दोलनको बीचमा भएको आगजनीका कारण उनको ज्यान गएको हो। नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार रजकको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

यसै क्रममा, आन्दोलनका क्रममा पत्रकार दिनेश गौतममाथि भएको कुटपिट, अन्नपूर्ण मिडिया समूहको कार्यालयमा तोडफोड तथा आगजनी, कान्तिपुर टेलिभिजन भवनमा गरिएको ढुङ्गामुडा, र हिमालय टेलिभिजनको सवारीसाधनमा भएको क्षतिका घटनाहरूलाई नेजाले गम्भीर आपत्तिसहित निन्दा गरेको छ।

नेजाले नेपाल सरकारलाई प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको संरक्षण, र पत्रकारहरूको सुरक्षामा गम्भीर बन्न आग्रह गरेको छ। संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि पत्रकारहरू असुरक्षित रहेको सन्देश प्रवाह हुने यस्ता घटनाहरू निन्दनीय रहेको नेजाले जनाएको छ।

साथै, नेजाले नेपाल पत्रकार महासंघसँग ऐक्यबद्धता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै सम्बद्ध निकायहरूलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।

यसैबीच, आन्दोलनकै क्रममा ज्यान गुमाएका सविन महर्जनप्रति पनि नेजाले श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्ति र लोकतान्त्रिक मूल्यको रक्षा गर्न सबै पक्षलाई सचेत रहन अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर