पुनर्उत्थानवादी समूहले भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएका छन् : महासचिव भुसाल — OSNepal

पुनर्उत्थानवादी समूहले भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएका छन् : महासचिव भुसाल

LC (KTM) March 28, 2025 0

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राजावादीहरूले शान्तिपूर्ण प्रदर्शनका नाममा सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालयमा गरेको तोडफोड तथा आगजनीको निन्दा गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मलेनमा पार्टीका महासचिव घनश्याम भुसालले अराजक समूहले सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतङ्क फैलाउन गरेको कार्य आपत्तिजनक रहेको बताउनुभयो ।

पुनर्उत्थानवादी समूहले आफ्नो केन्द्रीय तथा काठमाडौँ जिल्ला कार्यालयमा आक्रमण गरी तोडफोड र आगजनी गरेको भन्दै उहाँले आफ्नो पार्टी कार्यालयभित्र उनीहरू प्रवेश गरी भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएको जानकारी दिनुभयो ।

पार्टीको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई बिहानदेखि खबर गर्दा पनि उनीहरू त्यस विषयमा संवेदनशील नभएकाले घटना हुन पुगेकामा उहाँले दुःख व्यक्त गर्नुभयो ।

महासचिव भुसालले मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलापविरुद्ध सबै परिवर्तन पक्षधर एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर