चलचित्र बोर्ड सदस्यमा चलचित्रकर्मी लोहनी नियुक्त — OSNepal

चलचित्र बोर्ड सदस्यमा चलचित्रकर्मी लोहनी नियुक्त

LC (KTM) March 28, 2025 0

काठमाडौँ, १५ चैतः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा अभिनेता एवं निर्देशक सन्तोषबाबु लोहनीलाई नियुक्त गरेको छ ।

यही चैत ६ गतेदेखि बोर्डमा दुई सदस्यको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा मन्त्रालयले चैत १४ गते बिहीबार चलचित्रकर्मी लोहनीलाई उक्त पदमा नियुक्त गरेको हो ।

विसं २०४९ मा निर्माण भएको चलचित्र ‘अपमान’ मा अभिनय गरेर कलाकारिता सुरु गर्नुभएका लोहनी निर्देशन तथा निर्माणमा सक्रिय हुनुहुन्छ । बोर्डको सदस्यमा नियुक्त भएसँगै उहाँले चलचित्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारका लागि कार्य गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पाएको अवसरलाई मेरो अनुभवका आधारमा सदुपयोग गर्नेछु । बोर्डको एक समितिमा रहेर काम गरिरहेको अवस्थामा सञ्चालक समितिको सदस्य बनेसँगै आगामी दिनमा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा योजनाबद्ध रूपमा काम गर्नेछु ।”

यसअघि उहाँ बोर्डअन्तर्गत अन्तरराष्ट्रिय चलचित्र प्रवर्द्धन समितिको सदस्य पनि हुनहुन्छ । बोर्डका अध्यक्ष दिनेश डिसीले नवनियुक्त सदस्य लोहनीलाई शुभकामना दिँदै उहाँको अनुभव र योगदान चलचित्र विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्य लोहनीको कार्यकाल दुई वर्षको रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर