चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुने सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार रिलिज हुने भएको छ। भारतको गोवा र रसुवाको लाङटाङमा खिचिएको गीतको सार्वजनिक तस्वीरमा मुख्य अभिनेता प्रकाश सपुत र स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
यसअघि सार्वजनिक सिनेमाका प्रचार सामग्री, गीत-संगीत, टिजर तथा ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गरेको छ। जसका कारण यो सिनेमा यस वर्षकै प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ। आइतबार सार्वजनिक हुने यो गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन्। सिनेमा निर्देशक समेत रहेका अभिनेता प्रकाश सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा योगेश काजी शाहको संगीत संयोजन छ।
सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे र विशाल पहारीको अभिनय रहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने यो सोसल ड्रामा सिनेमाको कथा, पटकथा र संगीत पनि निर्देशक प्रकाश सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्ने सपना देख्दै त्यसलाई हासिल गर्न गर्ने संघर्षको कथा सिनेमाले प्रस्तुत गर्नेछ। सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक प्रकाश सपुतको जन्मथलो बागलुङ, साथै काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशन रहेको यस सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन्।