काठमाडौं । वर्तमान व्यवस्था विरोधी दल राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले २०६२/०६३ को जनआन्दोलनपछि नेताहरूले नेपाललाई १० वर्षमा स्विट्जरल्यान्ड र सिंगापुरजस्तो बनाउने भनेर झूट बोलेको बताएका छन् ।
विराटनगरमा राप्रपा नेपालद्वारा आयोजित मोटरसाइकल र्यालीपछि भएको सभालाई सम्बोधन गर्दै उनले अहिले युवाहरू सामान्य रोजीरोटीका लागि पनि विदेसिनुपर्ने बाध्यता रहेको बताए ।
वर्तमान व्यवस्थामा जनताले कुनै परिवर्तनको आभास गर्न नपाएको जिकिर गर्दै उनले अब राजसंस्था पुनर्स्थापना जरुरी रहेको बताए ।
‘हाम्रो पार्टीले हिजो निर्णय गरेको छ, हामी संयुक्त आन्दोलनको मोर्चामा सहभागी हुन्छौँ । १५ गते राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुनेछौँ,’ उनले भने, ‘अब परिवर्तन हुन्छ ।’
उनले थपे, ‘२०६२/०६३ को जनआन्दोलनपछि नयाँ नेपाल बन्छ भनिएको थियो । १९औँ शताब्दीको मार्क्सको नारा बोकेर १० वर्षमा देश सिंगापुर बनाउँछौँ भनेका थिए । तर अहिले सामान्य रोजीरोटीका लागि पनि विदेश जानुपर्ने अवस्था बनेको छ ।’
उनले अहिले जन्मँदै प्रत्येक नेपालीको टाउकोमा ९१ हजार ऋण रहेको उल्लेख गर्दै सरकारले आर्थिक समृद्धिको सवालमा केही गर्न नसकेको बताए ।