पत्रकारलाई सामूहिक बदनाम गर्नेहरूलाई महासंघले कानुनी कारबाही गर्ने — OSNepal

पत्रकारलाई सामूहिक बदनाम गर्नेहरूलाई महासंघले कानुनी कारबाही गर्ने

Kesh Karki (USA) March 28, 2025 0

रौतहट – सामाजिक सञ्जालमा पत्रकारहरूलाई सामूहिक बदनाम गराउने जो-कोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ। महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले आज बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै, केही समयदेखि सामाजिक सञ्जालमा रौतहटका सञ्चारकर्मी तथा पत्रकारहरूलाई सामूहिक रूपमा बदनाम गर्ने गरी केही व्यक्तिहरूले अशिष्ट भाषा प्रयोग गरेर तथानाम लेख्ने गरेकोप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका छन्।

जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, कुनै व्यक्ति वा पात्रसँगको वैचारिक मतभेद वा व्यक्तिगत रिसिईवीका कारण सम्पूर्ण सञ्चारकर्मीहरूलाई बदनाम गर्ने काम हुनुहुँदैन। यदि कसैले कुनै अनैतिक वा गैरकानुनी कार्य गरेको भए, सो व्यक्तिको नाम किटानी गरेर सम्बन्धित निकायमा उजुरी दिनु पर्नेमा सम्पूर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय कार्य भएको महासंघले जनाएको छ। यस्तो कार्य गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

सामाजिक सञ्जालमा बिना प्रमाण पत्रकारहरूलाई आरोप लगाउने, बदनाम गराउने, अपशब्द प्रयोग गर्ने तथा गालीगलौज गर्ने कार्य भएमा महासंघ कानुनी कारबाही अघि बढाउन बाध्य हुने स्पष्ट गरिएको छ। साथै, यस्ता घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमा निगरानी बढाउन आग्रह गरिएको छ।

त्यसैगरी, जारी विज्ञप्तिमार्फत सञ्चारकर्मीहरूलाई नेपाल पत्रकार महासंघले तोकेको पत्रकार आचारसंहिताभित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको आजै बसेको बैठकले सह-सचिव दिनेश यादव संगमलाई सूचना अधिकारीका रूपमा नियुक्त गरिएको महासंघका अध्यक्ष सञ्जय कुमार कार्कीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर