भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल — OSNepal

भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल

Kesh Karki (USA) March 28, 2025 0

पोखरा – गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। प्रदेश सभाको बिहीबारको बैठकमा सांसदहरूले आफ्नो धारणा व्यक्त गरेका छन्।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले यो विधेयकले भवन निर्माण तथा बस्ती विकासलाई सुविधायुक्त, सुरक्षित र जोखिममुक्त बनाउँदै नागरिक जीवन सुरक्षित गर्ने, मौलिक पहिचान झल्किने, भवन निर्माणको मापदण्ड र वर्गीकरण गर्ने कार्यलाई नियमन गर्ने, परम्परागत बस्तीको पहिचान, अभिलेखीकरण र वर्गीकरण गर्ने, जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने तथा बस्ती विकास कोषको व्यवस्था गर्ने प्रावधान समेटेको जानकारी दिए।

विधेयकले सार्वजनिक भवन निर्माण, प्रयोग, मर्मत-सम्भार तथा जग्गा विकास वा भवन एकीकरणसम्बन्धी व्यवस्थालाई समेटेको मन्त्री केसीले बताए।

सरकारले विज्ञ टोली, प्राविधिक तथा सरोकारवालाहरूको सल्लाह र सुझावका आधारमा विधेयक तयार गरी सदनमा पेश गरेको मन्त्री केसीले उल्लेख गरे।

सैद्धान्तिक छलफलपछि विधेयकलाई विषयगत समितिमा पठाइनेछ, जसका क्रममा आवश्यक संशोधनहरू हुन सक्ने बताइएको छ। छलफलका क्रममा सांसदहरूले व्यक्त गरेका धारणाप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री केसीले सांसदहरूको सक्रिय सहभागिताले विधेयकलाई अझ उत्कृष्ट, जनमुखी र विकासोन्मुख बनाउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर