काठमाडौँ, १४ चैत : राजधानीमा जारी सहिद स्मारक ‘बी डिभिजन लिग फुटबल’ प्रतियोगितामा वीरगञ्ज युनाइटेड क्लब र भगवती क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयसम्म अग्रतामा रहेको भगवती अन्तिम समयमा गोल खान पुगेको हो । खेलको ३१औँ मिनेटमा भगवतीका विक्रान्त नरसिंह रानाले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका कृपाकान्त महतो थारूले गोल गर्नुका साथै खेललाई बराबरी गरे ।
खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । भगवतीले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो । उसको ३ खेलबाट ७ अङ्क छ । वीरगञ्जको ३ खेलबाट ५ अङ्क रहेको छ ।
यसैगरी, सोही मैदानमा आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले हरायो । प्लानिङ ब्वाइजका लागि खेलको ३०औँ मिनेटमा विशाल दर्जीले गोल गरे । त्यसपछि खेलको ७७औँ मिनेटमा फागुराम थारूले गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए । जितसँगै प्लानिङ ब्वाइज नौ अङ्क जोडेको छ । मध्यपुरले भने ३ खेलमा ४ अङ्क जोडेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ब्वाइज युनियनबीच तथा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।