काठमाडौं । अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेको कारण कुलमान घिसिङलाई पदबाट हटाइएको सरकारले जनाएको छ । विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको जनाएको छ । यस्तै, संघीय संसद् र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु, डेडिकेटेड फिडर तथा ट्रंक लाइन ग्राहकहरूको बक्यौता रकम असुल नगर्नु, सञ्चारमाध्यममा गोप्य दस्तावेज सार्वजनिक गर्नुजस्ता कारणले हटाउने निर्णय भएको पत्र कुलमानलाई पठाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने घिसिङलाई हटाएको विषयतर्फ संकेत गर्दै मानिसहरूले “सानो त्यान्द्रो” लाई समाएर “तिललाई पहाड बनाइरहेको” बताएका छन् । यद्यपि, सत्तापक्षका नेता तथा कार्यकर्तालाई समेत कुलमान घिसिङलाई हटाइएको विषयमा सरकारको प्रतिरक्षा गर्न कठिनाइ भएको देखिएको छ । घिसिङले आफूलाई हटाइएको विषयमा कानुनी बाटोबाट “न्याय” खोज्ने बताइसकेका छन् ।