सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ मा विविध कार्यक्रम सम्पन्न — OSNepal

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ मा विविध कार्यक्रम सम्पन्न

Kesh Karki (USA) March 27, 2025 0

चैत्र १४, २०८१, काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइएको ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।

यस वर्षको ग्लोबल मनी वीक २०२५ को नारा ‘Protect Your Money, Secure Your Future’ लाई सार्थक बनाउने प्रयासस्वरूप बैंकले देशका सातै प्रदेशमा विद्यालय तथा क्याम्पस गरी २४ स्थानहरूमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको थियो। बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार तथा यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराउँदै विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १,२१२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

साथै, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरूसम्बन्धी व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो। यस सप्ताहव्यापी रूपमा मनाइएको ‘ग्लोबल मनी वीक २०२५’ मा बैंकले कुल ३८ कार्यक्रममार्फत १,६६० जना विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको थियो।

बैंकले देशका सम्पूर्ण व्यक्तिहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने तथा हरेक वर्ग र क्षेत्रका नागरिकलाई वित्तीय चेतना प्रदान गर्दै वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले यी कार्यक्रमहरू सञ्चालन गरेको हो। बैंकले वार्षिक रूपमा मनाइने ‘ग्लोबल मनी वीक’ अभियानले वित्तीय शिक्षाको महत्वबारे जागरूकता ल्याउने तथा यस अभियानका उद्देश्यहरू प्राप्त गर्न योगदान दिने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर