वर्ल्डलिंकको ऐतिहासिक उपलब्धि : १० लाख ग्राहक पार गर्ने पहिलो इन्टरनेट सेवा प्रदायक — OSNepal

वर्ल्डलिंकको ऐतिहासिक उपलब्धि : १० लाख ग्राहक पार गर्ने पहिलो इन्टरनेट सेवा प्रदायक

Kesh Karki (USA) March 27, 2025 0

काठमाडौं – नेपालको इन्टरनेट सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंक कम्युनिकेसन ले १० लाख ग्राहक पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीका प्रमुख कार्यकारी केशव नेपाल ले यो सफलता सम्भव गराउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, साझेदार तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन्।

२५ वर्षे यात्रामा ऐतिहासिक उपलब्धि

विसं २०५२ सालमा स्थापना भएको वर्ल्डलिंक नेपालकै पहिलो निजी इन्टरनेट सेवा प्रदायकमध्ये एक हो। सीमित स्रोतसाधनका बाबजुद इन्टरनेटको यात्रालाई अगाडि बढाएको वर्ल्डलिंकले दूरदराजका गाउँबस्तीहरूमा समेत सेवा विस्तार गर्दै आएको छ।

“त्यस बखत इन्टरनेट सेवा नेपालका लागि अत्यन्तै नौलो थियो। बिजुली र टेलिफोनसमेत नपुगेका स्थानमा इन्टरनेट पुर्याउने सपना असम्भवजस्तै लाग्थ्यो। तर, हाम्रा ग्राहकहरूको भरोसा, समर्थन र मायाले हामीलाई यहाँसम्म ल्याएको हो,” प्रमुख कार्यकारी नेपालले भने।

नेपाललाई विश्वसँग जोड्ने लक्ष्य

नेपाललाई डिजिटल युगमा अगाडि बढाउन वर्ल्डलिंकले “नेपाललाई विश्वसँग जोड्ने” मूल उद्देश्यका साथ सेवा प्रवाह गर्दै आएको छ। कम्पनीले दुर्गम क्षेत्रहरूमा समेत इन्टरनेट पुर्याएर त्यहाँका स्थानीयको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ।

“आज देशका कुनाकाप्चासम्म इन्टरनेट पुर्याउन सफल भएका छौँ। त्यहाँका बासिन्दाको अनुहारमा देखिने खुसी नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो,” नेपालले बताए।

गुणस्तर र सेवा विस्तारमा निरन्तर लगानी

कम्पनीले आगामी दिनहरूमा अझ प्रभावकारी, गुणस्तरीय, सहज र पहुँचयुक्त सेवा प्रवाह गर्न थप लगानी गर्दै जाने प्रतिबद्धता जनाएको छ। साथै, ग्राहकहरूको सुझाब, आलोचना र समर्थनलाई वर्ल्डलिंकले आफ्नो निरन्तरको प्रेरणाका रूपमा लिने बताइएको छ।

“हाम्रो यात्रामा साथ दिने सम्पूर्ण ग्राहकहरू प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि तपाईंहरूको माया र सुझाव पाइरहने आशा राख्छौं,” नेपालले भने।

१० लाख ग्राहकको आँकडा पार गर्ने पहिलो इन्टरनेट सेवा प्रदायकका रूपमा वर्ल्डलिंक अब अझ सशक्त भएर नेपालभर इन्टरनेट पहुँच विस्तार गर्दै जाने लक्ष्यमा अघि बढ्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर