काठमाडौं – वैदेशिक रोजगारबाट फर्केकाहरूको हकहितका पक्षमा क्रियाशील संस्था रिटर्नी फेडेरेसन नेपाल को दोस्रो राष्ट्रिय महाधिवेशन चैत १५ र १६ गते काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यू मा हुने भएको छ।
महाधिवेशनमा ६५ जिल्लाका ६०० जना प्रतिनिधिको सहभागिता रहने अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले गर्नेछन्।
महाधिवेशन आयोजनाअघि संगठनका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश कमिटी, ५८ जिल्ला कमिटी, तथा झन्डै २०० पालिका कमिटीका अधिवेशनहरू सम्पन्न भइसकेको अध्यक्ष अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए।
दुई प्रदेश कमिटी र सात जिल्ला कमिटीमा सम्मेलन आयोजक कमिटी निर्माण भई ६५ जिल्लामा संगठन विस्तार भएको छ। विभिन्न ७ मुलुकमा फेडेरेसनका प्रवास प्रतिनिधिहरू रहेका छन्। संगठनले सञ्चालन गरेको सदस्यता विस्तार अभियानमार्फत ३५ हजार सदस्य थप भएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।
२०७७ साल पुस २७ गते नेकपा (एमाले) को जनसंगठन प्राप्त गर्न संयोजन कमिटी गठन भई २०७८ साल पुस १६ गते घोषणा भएको फेडेरेसन औपचारिक रूपमा चौथो वर्षमा प्रवेश गरेको छ।
दोस्रो राष्ट्रिय महाधिवेशनबाट ९ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटी, साथै ५ सदस्यीय लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग निर्वाचित गरिने केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख खेम कार्की ले जानकारी दिएका छन्।