काठमाडौँ, १२ चैतः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताउनुभएको छ ।
जर्मनीको बर्लिनमा आयोजित ‘पिटर्सबर्ग जलवायु संवाद’लाई सम्बोधन गर्दै पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने जस्ता विषयमा प्राथमिकता दिन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री शाहीले नेपालले नगन्य कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनका अवसरबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारे जानकारी गराउनुभएको थियो ।
विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ । उक्त संवादमा विशेष गरी जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने, र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
जलवायु वार्तामा विशेष भूमिका रहेका देशलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वन तथा वातावरणमन्त्री शाही सहभागी हुनुभएको हो । कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायु विज्ञ मञ्जित ढकाललगायत सहभागी हुनुहुन्छ ।