काठमाडौं । फिल्म निर्माण कम्पनी अनन्या फिल्म्स प्रालिले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’को छायांकन सम्पन्न गरेको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टोली काठमाडौं फर्किएको छ । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख अभिनयमा छन् ।
फिल्ममा समावेश हुने दुई गीतबाहेकका सम्पूर्ण दृश्यको छायांकन सकेर फर्किएको छौं, निर्माता सरोज न्यौपानेले भने, ‘उत्कृष्ट फिल्म तयार गर्न आवश्यक कुनै पनि पक्षमा सम्झौता गरिएको छैन ।’ सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङलगायतका ठाउँमा यो फिल्म खिचिएको छ । फिल्मका केही दृश्य काठमाडौंमा झन्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।
अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्गी पनि यो फिल्ममा प्रमुख अभिनयमा छन् । अनमोलका पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भूमिका निभाएका छन् । बाल कलाकारको रूपमा कलाकारितामा प्रवेश गरेका अनमोलले ‘स्टार’को ट्याग पाइसकेका छन् । अनमोल र भुवनलाई एकसाथ पर्दामा हेर्न आतुर दर्शकका लागि यो फिल्म उपयुक्त अवसर बन्नेमा निर्माण टोली विश्वस्त छ ।
कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झन्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताए । गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो । हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले ३ करोडभन्दा बढी एमजी (मिनिमम ग्यारेन्टी) मा ‘जेरी अन टप’को विदेश राइट्स खरिद गरेको बताइएको छ । यद्यपि, रकम भने दुवै पक्षले खुलाएका छैनन् । न्यौपानेले विदेश प्रदर्शन अधिकार बिक्री हुँदा फिल्मको आधा लगानी ‘कभर’ भइसकेको बताए ।
सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए । फिल्ममा समावेश हुने एउटा गीत नेपालमा र अर्को गीत भारतमा छायांकन गरिने निर्माण टोलीले जनाएको छ ।