व्यावसायिक तथा सीप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम सञ्चालन — OSNepal

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम सञ्चालन

Kesh Karki (USA) March 25, 2025 0

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराले कपाल काट्ने (शैलुन), प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेसन डिजाइन, एडभान्स कटाइ-सिलाइ, मन्टेसरी, कुक (पाक शिक्षा) र आधारभूत कटाइ-सिलाइ तालिम सुरु गरेको छ।

तालिमको उद्घाटन मंगलबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले एक समारोहबीच गरेका छन्। सो अवसरमा मन्त्री थापाले प्रदेश सरकार युवालाई दक्ष जनशक्ति बनाएर आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको बताए। उनले भने, “शिक्षासँगै सीप अभिवृद्धि गरेर मात्र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। सीपमूलक तालिमले युवा र महिलालाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।”

मन्त्री थापाले गण्डकी प्रदेश सरकारले व्यावसायिक सीप विकासलाई प्राथमिकता दिएको र स्वरोजगारमुखी कार्यक्रममार्फत युवालाई सीपयुक्त बनाउने योजनामा रहेको जानकारी दिए। उनले प्रदेश सरकारले सीप सिकाएर युवालाई दक्ष बनाउन लगानी गरिरहेको उल्लेख गरे।

तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले व्यावसायिक सीप विकास तालिम केन्द्र, पोखराले निःशुल्क तालिम प्रदान गर्दै आएको बताए। उनका अनुसार, प्रत्येक तालिममा दक्ष प्रशिक्षक खटाइएका छन् भने सहभागीलाई आवश्यक उपकरण र तालिम सामग्री पनि उपलब्ध गराइने छ।

यी तालिम विशेषगरी युवा, बेरोजगार, महिला, दलित, विपन्न र पछाडि परेका समुदायका व्यक्तिलाई लक्षित गरी सञ्चालित छन्। तालिमपछि सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले रोजगारी र उद्यमशीलतामा योगदान पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा तालिम केन्द्रका सूचना अधिकारी विनोद रेग्मीले १९ वटा तालिमको सूचना प्रकाशित गरिएकामा हाल ९ वटा तालिम सञ्चालनमा आएको जानकारी दिए। ५०० भन्दा बढी आवेदन प्राप्त भएकामा १८० जना छनोट भएको उनले बताए।

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश ढुंगाना, तालिम केन्द्रका प्रतिनिधि, प्रशिक्षक र सहभागीको उपस्थिति थियो। सहभागीले यस्ता तालिमले भविष्यमा स्वरोजगार बन्ने अवसर प्रदान गर्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर