“चलचित्र ‘अभिमन्यु’को कलाकार छनोट सुरु, गौमाया गुरुङ पहिलो अनुबन्ध” — OSNepal

“चलचित्र ‘अभिमन्यु’को कलाकार छनोट सुरु, गौमाया गुरुङ पहिलो अनुबन्ध”

Kesh Karki (USA) March 25, 2025 0

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माण पक्षले चलचित्रका कलाकारहरूको नाम सार्वजनिक गर्न थालेको छ ।

‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माण पक्षले गुरुङलाई आफ्नो चलचित्रमा अनुबन्ध गरिएको जानकारी दिएको छ ।

“हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट प्रक्रिया सुरु गरेका छौं । पहिलो कलाकारका रूपमा गौमायाजी अनुबन्ध हुनुभएको छ,” निर्माता विनोद पौडेलले भने, “अब अन्य कलाकारहरूलाई पनि क्रमशः अनुबन्ध गर्दै जानेछौं ।”

उनले चलचित्रका पात्रहरूअनुसार बलियो कलाकार समूह तयार गर्ने बताए ।

सर्वकालिक ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।

चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई चित्रण गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेर त्यहाँबाट निस्कन खोज्ने पात्रको संघर्षको कथा यो चलचित्रले प्रस्तुत गर्नेछ ।

यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्ने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको पहिलो निर्देशकीय चलचित्र हो ।

मुकेश खनालको लेखन रहेको यो चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो: रोड टु डेथ’ निर्देशन गरेका थिए ।

चलचित्रमा शरद महतोको छायांकन रहनेछ ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यो चलचित्रका सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर