काठमाडौं । कौण्डिन्य गोत्रीय पाठक समाज नेपालले छैटौं केन्द्रीय अधिवेशन तथा सम्मेलन यही चैत २९ र ३० गते गर्ने भएको छ। काठमाडौंको टोखा नगरपालिकास्थित हरिहर आश्रममा सञ्चालन हुने दुई दिने कार्यक्रममा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिनुका साथै पदाधिकारीका प्रतिवेदनमाथि छलफल हुने समाजका केन्द्रीय अध्यक्ष टीकाराम पाठकले जानकारी दिनुभयो।
अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि पत्राचार तथा सूचना आदान-प्रदानको काम भइरहेको समाजका महासचिव प्रा.डा. गणेशप्रसाद पाठकले बताउनुभयो।
यसैबीच, अधिवेशन तथा सम्मेलनमा सहभागी हुनका लागि विदेशमा रहेका बन्धुहरूले समेत इच्छा व्यक्त गरेका कारण यसपटकको महाधिवेशन अझ ऐतिहासिक बन्ने समाजका केन्द्रीय सचिव केशव पाठकले दाबी गर्नुभयो।
३० वर्षअघि स्थापित यो समाजले सगोत्री भित्र विवाह नगर्ने, देशभरका पाठकहरूले एउटै तिथिमा हिंसारहित कुल पूजा गर्ने, सहयोगको आवश्यकता परेका बन्धुहरूलाई आर्थिक सहायता प्रदान गर्ने, समाजका सदस्यको मृत्यु भएको दशौं दिनमा प्रति परिवार एक सय रुपैयाँसहित उपस्थित हुने, पूजा लगायत मृत्यु संस्कारमा एकरूपता अपनाउने जस्ता कार्य गर्दै आएको सचिव पाठकले जानकारी दिनुभयो।
रुपन्देहीको मणिग्राममा केन्द्रीय कार्यालय रहेको समाजले हालसम्म करीब पाँच करोड रुपैयाँको भौतिक पूर्वाधार निर्माण गरी सार्वजनिक उपयोगमा ल्याएको समेत उल्लेख गरेको छ।
समाजका सदस्यहरूको बसोबासका आधारमा ९ वटा क्षेत्र निर्माण गरी क्षेत्रीय कार्य सञ्चालन गर्दै आएको तथा सदस्यहरूको थप विकासका लागि युवा समिति र महिला समिति गठन गरी सक्रिय रूपमा कार्य गरिरहेको समेत समाजले जनाएको छ।