उपत्यकामै मीटरब्याजीहरूको बिगबिगी, पर्दाभित्रबाट नेता निर्देशन दिने, कार्यकर्ता जनता ठग्ने! — OSNepal

उपत्यकामै मीटरब्याजीहरूको बिगबिगी, पर्दाभित्रबाट नेता निर्देशन दिने, कार्यकर्ता जनता ठग्ने!

Kesh Karki (USA) March 25, 2025 0

काठमाडौं – मुलुककै राजधानीमा मीटरब्याजी मौलाउँदै गएका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा मीटरब्याजमा पैसा लिने–दिने क्रम तीव्र रूपमा बढेको छ। एक लाख रुपैयाँ ऋण लिएबापत मासिक ३० हजार रुपैयाँसम्म ब्याज तिर्नुपर्ने अवस्था छ। उपत्यकामा शिक्षित व्यक्ति बस्छन्। यो कुनै दुर्गम जिल्ला होइन।

विडम्बना के छ भने, यहाँ शिक्षित व्यक्तिहरुबाटै मीटरब्याजमा पैसा लेनदेन भइरहेको पाइन्छ। पाँच लाख रुपैयाँ दुई महिनाका लागि दिने अनि ब्याजसहित आठ लाखको चेक लिने। कसैले करोड मूल्य पर्ने घरजग्गा धितो राखेर २०–२५ लाख रुपैयाँ ऋण लिने। तर, ऋण तिर्न तीन महिनादेखि बढीमा ६ महिनासम्मको मात्र समय दिइन्छ। सो अवधिभित्र चुक्ता गर्न नसकेमा करोडौं पर्ने घर नै पचाइन्छ।

मीटरब्याजमा पैसा लगानी गर्नेहरूमा सुन व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, होटल व्यवसायी, उद्योगी तथा अन्य व्यवसायी, टोले गुण्डा रहेका छन्। यसरी पैसा लिनेहरू भने साना व्यापारी वा घरजग्गा, गाडी, सेयरमा लगानी डुबेका व्यक्तिहरू छन्। कतिपयले छोराछोरीलाई विदेश पठाउन वा उपचारका लागि पनि मीटरब्याजमा पैसा लिन्छन्।

मीटरब्याजमा पैसा लिँदा अधिकांशले सोच्छन्, “समय छँदैछ, तिरिहालिन्छ नि।” तर, दिनप्रतिदिन बढ्दो ब्याजदर अनि घट्दो आम्दानीका कारण उनीहरूले समयमै पैसा चुक्ता गर्न सक्दैनन्। जसका कारण उनीहरूले धितो त गुमाउँछन् नै, जेलसमेत जानुपर्छ। मीटरब्याजमा पैसा लिएका अधिकांश व्यक्तिहरूले फिर्ता दिने बेला चेक दिन्छन्।

तर, समस्या के छ भने, दिइएका चेकहरू एक–दुई महिनापछिका हुन्छन्। जब बैंक खातामा पैसा हुँदैन, चेक बाउन्स हुन्छ। अधिकांशलाई थाहा छैन कि तीन पटक चेक बाउन्स भएमा बैंकिङ्ग कसुरमा मुद्दा चल्छ। यो कुराबाट अनजान भएकै कारण धेरैले साहुलाई झुक्याउन खातामा पैसा नभए पनि चेक दिन्छन्। पटक–पटक चेक बाउन्स भएपछि ऋणीविरुद्ध बैंकिङ्ग कसुरको मुद्दा दर्ता हुन्छ।

मीटरब्याजीहरूले चिनजान नभएका व्यक्तिलाई पनि सजिलै ऋण दिन्छन्। किनभने उनीहरूलाई पैसा लगानी गर्नुछ, कहाँ र कसलाई गर्ने भनेर उनीहरू सोच्दैनन्। उनीहरूलाई त ब्याज मात्र चाहिएको हुन्छ। आफूले भनेजति ब्याज दिन्छु भनेपछि, नचिनेका व्यक्तिलाई पनि तुरुन्तै जति माग्यो, त्यति पैसा दिन्छन्।

सरकार भन्छ, “घरजग्गा कारोबार बढ्यो।” तर, किन र कसरी बढ्यो? यसको जवाफ सरकारसँग छैन। वास्तविकता के हो भने, बजारमा घरजग्गा किनबेच नै छैन। तर, नामसारी बढेको छ। त्यसको मुख्य कारण मीटरब्याज नै हो। मीटरब्याजमा पैसा लेनदेन गर्दा, ऋण लिनेको धितो अर्थात् घरजग्गा सुरुमा नै मीटरब्याजीको नाममा नामसारी गरिन्छ।

यसरी घरजग्गाको कारोबार बढेको देखिन्छ, तर वास्तवमा किनबेच बढेको होइन, नामसारी बढेको हो। त्यो पनि मीटरब्याजीहरूको नाममा। सर्वसाधारण भने सुकुम्बासी बन्दै गएका छन्। यस्तो अवस्थामा घरजग्गाको वास्तविक कारोबार बढ्छ भनेर कल्पना नै गर्न सकिँदैन। घरजग्गा मात्र होइन, गाडी र सेयरसमेत मीटरब्याजीहरूको नाममा धमाधम नामसारी भइरहेको छ।

गरिब जनताको सम्पत्तिमाथि मीटरब्याजीहरूको रजगज फेरि सुरु भएको छ। अझ रोचक कुरा के छ भने, मुलुककै राजधानी र सबैभन्दा बढी शिक्षित व्यक्तिहरूको बसोबास रहेको उपत्यकामै यस्तो भइरहेको छ, तर सरकार भने मुकदर्शक बनेर बसेको छ।

बैंकहरू भन्छन्, “कर्जा प्रवाह भएन।” तर, बैंकबाट ऋण लिँदा झन्झट बेहोरिन्छ। बैंकका अध्यक्ष, सञ्चालक, कर्मचारीहरूले आफ्नालाई मात्र ऋण दिन्छन्, त्यो पनि घुस खाएर। करोडौं पर्ने घरजग्गा धितो राखेर ५० लाख ऋण लिन्छन्। त्यसमा १० लाख घुस नै खान्छन्। तीन प्रतिशतसम्म सेवाशुल्क र १२ देखि ८० प्रतिशतसम्म ब्याज असुल्छन्। अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडौं पर्ने धितो ४० लाखमै पचाइन्छ।

योसँगै ऋणीको तीन पुस्ते कालोसूचीमा नाम राखिन्छ। मीटरब्याजमा पैसा लिँदा ब्याज चर्को भए पनि, कालोसूचीमा पर्ने डर हुँदैन। त्यसैले मानिसहरू बैंकभन्दा मीटरब्याजमा आकर्षित भएका छन्।

यहाँ मीटरब्याजी होस् वा बैंक, वित्तीय संस्था— सबै ठग हुन्। सबैको नजर सर्वसाधारणको धितोमा छ। जनतालाई सुकुम्बासी बनाउने योजनामा यिनीहरू लागिपरेका छन्।

राजनीतिक संलग्नता:

मीटरब्याजमा पैसा लगानी गर्ने, बैंक तथा वित्तीय संस्था खोल्ने, गुण्डागर्दी गर्ने— यी सबै राजनीतिक दलका कार्यकर्ता हुन्। दलहरूको दोहोरो चरित्र छ। बाहिर देखाउने कुरा एउटा, भित्र गर्ने कुरा अर्कै। बाहिर जनतालाई मीटरब्याजी कारबाही गर्ने आश्वासन दिन्छन्, तर भित्र आफ्ना कार्यकर्तालाई लुट्न निर्देशन दिन्छन्।

गणतन्त्रका नेताहरूले जनतालाई भ्रमित बनाएर, सञ्चारमाध्यमको आँखामा छारो हालेर ठगी गरिरहेका छन्। व्यापारी दलका कार्यकर्ता हुन्, जो १०० रुपैयाँको सामान ५०० रुपैयाँमा बेचेर जनता ठग्छन्। त्यसैबाट पार्टीलाई चन्दा दिन्छन्।

अब के गर्ने?

अब जनताले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव, सीके राउत जस्ता नेताहरूलाई समात्नुपर्छ। यिनीहरूलाई देशबाटै लखेट्नुपर्ने अवस्था आएको छ।

यिनीहरूले जनताको रगत पसिना चुसेका छन्। जनताले दुःख गरेर कमाएको करमा यिनीहरूको मोजमस्ती चलेको छ।

न्याय माग्दै मीटरब्याज तथा लघुवित्त पीडितहरू विभिन्न जिल्लाबाट महिनौँ हिँडेर काठमाडौं आए। तर, सरकारले पटक–पटक आश्वासन मात्र दिएर उनीहरूलाई फिर्ता पठायो।

दुर्भाग्यवश, ती पीडितहरूले अझै न्याय पाएका छैनन्। किनभने मीटरब्याजीहरू स्वयं दलका कार्यकर्ता हुन्।

नेताहरूले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सकेका छैनन्। दलका कार्यकर्ताले सर्वसाधारण जनतालाई सुकुम्बासी बनाइरहेका छन्।

देश सिध्याउने, जनता ठग्ने अरू कोही होइनन्— दल, नेता, र तिनका कार्यकर्ताहरू नै हुन्।

अब के गर्नुपर्छ?

• मीटरब्याज र बैंकबाट ऋण नलिऔं।

• राजनीतिक दलहरूको दोगलापन चिर्दै, जनता सचेत बनौं।

• आफ्नो सम्पत्तिको सुरक्षा आफैं गरौं।

• जनताले अब सरकार र ठगी गर्ने बैंक, मीटरब्याजीहरूविरुद्ध आवाज उठाउन ढिलो गर्नु हुँदैन।

रुषा थापा

भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर